सर्लाही, १९ भदाै । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् ।
भोटेकोशी बाढीपछि अहिले खोज तथा उद्धार जारी रहेको छ । सांसद न्यौपानेका अनुसार सेनाले भित्रबाट मानिसको आवाज आएको जानकारी दिएको हो ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको उनले बताए ।
सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत भएको उनले बताए ।
उनले भनेका छन्, ‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु ।
उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ ।’
