सर्लाही, २१ भदाै । रसुवाको भोटेकोशी बाढीपछि हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँकेका १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ ।
रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीका कारण बाँकेका धेरै व्यक्ति बेपत्ता भएका छन् । बाढीमा फेला परेका कतिपय शव क्षतविक्षत भएकाले पहिचान गर्न कठिन भएपछि आफन्तको डिएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा नमूना सङ्कलन गरिएको छ ।
डिएनए परीक्षणका लागि बेपत्ता व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
शव पहिचानका लागि डिएनए परीक्षण गर्न नमूना पठाएपछि बाढीमा बेपत्ता दाजु–भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी रहेको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताए ।
भोटेकोशीमा आएको बाढीपछि उनका १९ वर्षीय एक्लो छोरा दीपक, ५३ वर्षीय दाजु शेरसिंह र ५६ वर्षीया भाउजू विष्णुमती एकैसाथ बेपत्ता भएका छन् ।
रसुवाको भोटेकोशी बाढीपछि बाँकेका २३ जना अझै बेपत्ता छन् । हालसम्म तीनजनाको शव सनाखत भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
उनका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार २७४ रुपैयाँ सहयोग जम्मा भएको छ ।
विभिन्न २१ सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।
बाँकेबाट सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले ६ लाख एक हजार रुपैयाँ गरेको छ । नेपाल ज्वेलर्सबाट दुई लाख ११ हजार रुपैयाँ तथा विभिन्न मस्जिदबाट सङ्कलित रकम पनि उल्लेख्य रहेको छ ।
