सर्लाही, २१ भदाै । सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी बजारमा इ–रिक्सा (मयुरी)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नवलपुर–मलंगवा सडकखण्डमा पर्ने कविलासी बजारमा शनिबार साँझ मधेश प्रदेश ०४–००१ ह ०६९७ नम्वरको इ–रिक्साले ठक्कर दिँदा पैदलयात्रु सोही ठाउँकी ६० वर्षीया स्वागवती ठाकुरको मृत्यु भएको हो ।
नवलपुरबाट कविलासीतर्फ जाँदै गरेको इ–रिक्साले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
इ–रिक्सा र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
