सर्लाही, २२ भदाै । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन् । बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भैरहेको कम्पनीहरुले जनाएका छन् ।
विपद्पछि खोज तथा उद्धार कामलाई प्राथमिकतामा राख्नुपरेकाले राहत प्याकेज ल्याउन ढिलाइ भएको हो । नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) तथा आयोजनामा संलग्न ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्दै आएका छन् ।
कम्पनीहरूले बाढीबाट प्रभावित कामदार, उनीहरूका परिवारजन तथा सबै सरोकारवालाले भोगिरहेको पीडा र अन्यौलप्रति आफूहरू पूर्ण रूपमा संवेदनशील रहेको बताएका छन् ।
अस्ति शनिबार एक जना चिनियाँ कामदारको उद्धार भएपछि भग्नावशेषमा अझै फसेका हुन सक्ने व्यक्तिहरूको खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन एनडब्लुइडिसीले सुरक्षा निकायसँगको सहयोग र समन्वय सुदृढ बनाएको छ ।
एनडब्लुइडिसीले बाढी आएको समयमा आयोजनाका विभिन्न स्थलमा कार्यरत व्यक्तिहरूको विवरण संकलन गरिरहेको छ । कामदार तथा कर्मचारीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त भएपछि सम्बन्धित परिवारलाई जानकारी गराइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बाढी आएको समयमा आयोजनास्थलमा करिब १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए । अस्ति शनिबारसम्म ८७६ जना कामदार तथा कर्मचारीको उद्धार भइसकेको छ भने ५५७ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।
