काठमाण्डाै, २२ भदाै । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन् ।
यी विमानस्थलबाट हुने उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन् ।
आइतबार बिहान जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थलनजिकैको आकाशमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि उडान रोक्ने निर्णय गरिएको हो ।
इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार १ हजार ५५८ वटा उडान ढिला भएका छन् । सम्बन्धित विमानस्थलहरू स्थानीय समयअनुसार सोमबार बिहान ९ बजेसम्म बन्द रहनेछन् ।
अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार रातिदेखि सुरु भएको थियो । त्यसपछि आसपासका क्षेत्रमा लगातार भूकम्पजस्तो गतिविधि देखिन थालेको थियो ।
लाभाका फोहरा र शक्तिशाली विस्फोटका आवाजसमेत सुनिएका थिए । आइतबार बिहानै थप दुईवटा विस्फोट भएका थिए ।
यातायात मन्त्रालयका अनुसार उडान सञ्चालन रोकिँदा मुख्य रूपमा सिंगापुर जाने–आउने उडानहरू प्रभावित भएका छन् । यसबाहेक दोहा, सिड्नी र क्वालालम्पुरलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यका उडानहरू पनि प्रभावित भएका छन् ।
