काठमाडौं, २२ भदाै । रुससँगको निरन्तर युद्धका बीच युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ ।

अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार यसबाट युक्रेन सरकारलाई वार्षिक करिब साढे २ करोड डलर थप आम्दानी हुने अनुमान गरिएको छ । एक युक्रेनी सांसदका अनुसार, यो रकमबाट युद्धका लागि आवश्यक पर्ने करिब ३० हजार ड्रोन खरिद गर्न सकिन्छ ।

भ्रष्टाचार रोक्ने र कर सङ्कलन गर्ने लक्ष्य

युक्रेनमा हाल पोर्नोग्राफीलाई पूर्ण रूपमा कानुनी मान्यता छैन । यसलाई वैधानिक बनाउनुको मुख्य उद्देश्य सरकारको आम्दानी बढाउनु मात्र नभई भ्रष्टाचारको बाटो बन्द गर्नु पनि रहेको अधिकारीहरूले बताएका छन् ।

प्रस्तावका समर्थकहरूका अनुसार, यसले प्रहरीलाई एडल्ट कन्टेन्टका सानातिना मुद्दामा अल्झिनुभन्दा गम्भीर अपराधमा ध्यान केन्द्रित गर्न मद्दत गर्नेछ। हाल यो व्यवसाय कानुनी कारबाहीको डरले लुकिछिपी चलिरहेको छ।

युक्रेनको संसद्ले जुलाई १४ मा वयस्कबीच सहमतिमा बनाइने पोर्न सामग्रीलाई अपराधको दायराबाट हटाउने प्रावधानसमेत रहेको नयाँ विधेयक पहिलो वाचनमा पारित गरेको छ।

विधेयकको पक्षमा २३१, विपक्षमा ८ र ३ सांसदले तटस्थ मत दिएका थिए भने ५५ सांसदले मतदान गरेनन्। अब यसलाई दोस्रो चरणको छलफलका लागि पेस गरिनेछ।

ठूलो कारोबार, तर कानुन बाधक

युक्रेनमा अनलाइन एडल्ट कन्टेन्टको कारोबार तीव्र रूपमा बढेको छ। सेप्टेम्बर २०१६ बाट सुरु भएको ‘ओन्ली फ्यान्स’ जस्ता सब्सक्रिप्सनमा आधारित प्लेटफर्ममा ठूलो सङ्ख्यामा युक्रेनी क्रिएटरहरू सक्रिय छन्।

रिपोर्टअनुसार सन् २०२३ मा मात्रै करिब ८ हजार युक्रेनी क्रिएटरले ‘ओन्ली फ्यान्स’बाट १३ करोड १० लाख डलर भन्दा बढी कमाएका थिए। यो त एउटा प्लेटफर्मको मात्र तथ्याङ्क हो, समग्र एडल्ट कन्टेन्ट कारोबारको आकार योभन्दा निकै ठूलो छ।

तर, युक्रेनको हालको कानुनअनुसार पोर्न कन्टेन्ट बनाउनु र वितरण गर्नु गैरकानुनी छ। यस्तो अवस्थामा क्रिएटरहरूलाई आफ्नो कमाइमा कर तिर्न सहज छैन। कर तिर्न खोज्दा उनीहरूको पहिचान खुल्ने र पोर्नोग्राफी कानुनअन्तर्गत उल्टै अनुसन्धान र कारबाही भोग्नुपर्ने डर छ।

कर तिर्दा पनि अनुसन्धान, घूसखोरीको समस्या

कतिपय कन्टेन्ट क्रिएटरले आफ्नो कमाइ सरकारलाई जानकारी गराएर कर तिर्ने प्रयास गरे पनि उनीहरूले अनुसन्धानको सामना गर्नुपरेको छ।

गैरकानुनी व्यवसाय भएकाले क्रिएटर र अधिकारीबीच ब्ल्याकमेल र घूसखोरीका घटना पनि बढेका छन्। युक्रेनका तीनवटा क्षेत्रमा अधिकारीहरूले एडल्ट कन्टेन्ट कारोबारमा संलग्न व्यक्तिहरूबाट घूस लिएको आरोप लागेको छ।

एडल्ट कन्टेन्ट क्रिएटर स्भितलाना द्वोर्निकोभाका अनुसार उनले हालसम्म करिब ९ लाख डलर कर तिरिसकेकी छन्। उनले यस व्यवसायलाई कानुनी मान्यता दिएर कर सङ्कलन गरे सरकारले युद्धका लागि अतिरिक्त रकम जुटाउन सक्ने बताएकी छन्। उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वेबसाइटमा दर्ता गराएको यससम्बन्धी याचिकाममा २५ हजारभन्दा बढीले हस्ताक्षर गरेका थिए।

बालबालिकासम्बन्धी अपराधमा भने कडाइ

२५ हजारको हस्ताक्षरपछि राष्ट्रपति जेलेन्स्कीले संसद्लाई यस प्रस्तावमा विचार गर्न आग्रह गरेका थिए। नयाँ प्रस्तावले वयस्कहरूबीच सहमतिमा बनाइएको एडल्ट कन्टेन्टलाई अपराध नमाने पनि बालबालिकासँग जोडिएको विषयलाई भने कडा अपराधकै रूपमा राखेको छ। सांसद जेलेज्न्याकका अनुसार यस्ता गम्भीर अपराधमा कानुनी कारबाही अझ कडा बनाइनेछ।

रक्षा बजेटको अभाव र विकल्पको खोजी

फेब्रुअरी २०२२ देखि रुससँग युद्ध लडिरहेको युक्रेनको सबैभन्दा ठूलो खर्च रक्षा र सेनामा भइरहेको छ। विश्व बैंकको तथ्याङ्कअनुसार सन् २०२४ सम्म युक्रेनले युद्धमा करिब १७१ अर्ब डलर खर्च गरिसकेको छ।

सन् २०२५ मा युक्रेनले सुरक्षा र रक्षामा करिब ३.८३ ट्रिलियन रिभ्निया खर्च गर्‍यो, जुन देशको कुल गार्हस्थ्य उत्पादनको ४२.९ प्रतिशत हो।

गत अगस्ट (२०२६) मा युक्रेनका रक्षामन्त्रीले सन् २०२६ को सैन्य बजेटमा करिब २७ अर्ब डलरको अभाव रहेको जानकारी गराएका थिए।

एडल्ट कन्टेन्टबाट आउने साढे २ करोड डलर कुल आवश्यकताको तुलनामा निकै सानो रकम भए पनि, चलिरहेको व्यवसायलाई नियमन गरी अतिरिक्त कर जुटाउने यो एउटा सुरक्षित बाटो बन्ने सरकारको विश्वास छ।

(एजेन्सीहरूको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *