सर्लाही, २२ भदाै । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढीको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको हो ।
आज बिहान ११ बजेसम्मको तथ्यांकअनुसार बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् ।
प्राधिकरणकाअनुसार बाढीमा परी निधन भएकामध्ये सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेका छन् । जहाँ ३ सय ६३ जनाको शव फेला परेको छ ।
यस्तै, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।
हालसम्म ४ हजार ९ सय ९६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन्। जसमा रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १ सय र ५ सय ८९ जना विदेशी नागरिक रहेका छन् ।
प्राधिकरणकाअनुसार सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका र सनाखत हुन बाँकी रहेका व्यक्तिहरू समेत पर्नसक्ने भएकाले तथ्यांक रुजु गर्ने कार्य भइरहेको छ ।
उद्धार कार्यमा हालसम्म १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा पुर्याइएको छ । बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ, जसमध्ये २ सय २८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ३ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरूको उपचारमा नेपाली सेनाले ३ हजार ३ सय ७९ र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई सेवा प्रदान गरेका छन्। रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन् ।
खोज तथा उद्धारका लागि कुल २१ हजार ४ सय २ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् ।
भदौ २१ गते मात्रै रसुवामा हेलिकप्टर र ट्रक मार्फत खाद्यान्न, जेनेरेटर, हाइजिन किट र विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री ढुवानी गरिएको छ । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १ सय ५० जना स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै २९ जना मनोसामाजिक परामर्शदाता पनि खटाएको छ ।
उद्धार र राहतका लागि हालसम्म नेपाली सेनाबाट १ हजार १ सय ५७ पटक र सशस्त्र प्रहरीबाट १ सय ९३ पटक उडानहरू भएका छन् । निजी क्षेत्रका हेलिकप्टरहरूले पनि १ सय २९ पटक उडान भरेका छन् ।
विद्युत र सञ्चार सेवातर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत आपूर्ति सुचारु भएको छ ।
यस्तै, नेपाल टेलिकमका १२० मध्ये ११७ र एनसेलका ७८ मध्ये ७६ टावरहरू सञ्चालनमा आइसकेका छन् ।
सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रभावित १५ वटा पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ भने ४५७ वटा ग्यास सिलिन्डर अनुदानका रूपमा पठाइएको छ ।
बेपत्ता, घाइते र उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज र वेबसाइटमा अध्यावधिक गरिएको प्राधिकरणले जनाएको छ ।
