काठमाण्डाैं, २२ भदाै । अस्ट्रियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै १४ वर्षमुनिका छात्राका लागि विद्यालयमा ‘हेडस्कार्फ’ अर्थात् टाउको छोप्ने कपडा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ । 

कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुर्काजस्ता टाउको छोप्ने ‘परम्परागत मुस्लिम’ कपडामाथि रोक लगाएको बीबीसीले जनाएको छ ।

रूढिवादी ‘पिपुल्स पार्टी’ (ओभीपी) की एकीकरण मन्त्री क्लाउडिया बाउरले टाउकोमा बाँधिने ‘हेडस्कार्फ’ दमनको प्रतीक तथा एकदमै सानो उमेरदेखि नै किशोरीहरूलाई नियन्त्रणमा राख्ने माध्यम भएको बताउनुभएको छ ।

तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम–विरोधी भावनालाई बढावा दिइरहेको र यो असंवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छ ।

यो कानून ‘ओभीपी’, ‘सोसल डेमोक्र्याट्स’ (एसपीओ) र उदारवादी ‘द न्यु अस्ट्रिया एन्ड लिबरल फोरम’ (एनईओएस) गरी तीन मध्यमार्गी दलहरूको रूढिवादी–नेतृत्वको गठबन्धनले ल्याएको हो । उनीहरूका अनुसार यो कानून लैङ्गिक समानताप्रतिको स्पष्ट प्रतिबद्धता हो र यसको उद्देश्य किशोरीहरूको अधिकारको रक्षा गर्नु हो ।

अस्ट्रियाको आधिकारिक इस्लामिक समुदाय (आईजीजीओ) की कार्ला अमिना बाघाजातीले आफ्नो संस्थाले प्रतिबन्धको दृढ विरोध गर्ने बताउनुभएको छ । यसले धर्मको स्वतन्त्रतासम्बन्धी मौलिक अधिकारलाई अनुचित रूपमा सीमित गर्ने र मुस्लिम छात्रामाथि असमान असर पार्ने उहाँको दाबी छ ।

आईजीजीओले आफ्ना मौलिक अधिकारहरू हनन भइरहेको ठान्ने र आफ्ना मुद्दाहरू संवैधानिक अदालतसमक्ष लैजान चाहने किशोरी तथा उनीहरूका परिवारद्वारा गरिने कानूनी पहललाई समर्थन गर्ने बताएको छ ।

अस्ट्रियाको धार्मिक तटस्थताको सिद्धान्त विपरीत रहेको भन्दै अदालतले सन् २०२० मा प्राथमिक विद्यालयहरूमा ‘हेडस्कार्फ’ माथि लगाइएको पूर्वप्रतिबन्ध खारेज गरेको थियो ।

कानूनमा व्यवस्था भएअनुसार यदि बारम्बार प्रतिबन्ध उल्लङ्घन भएमा बाल कल्याण सेवालाई जानकारी गराउनुपर्नेछ र अन्तिम उपायका रूपमा अभिभावकहरूलाई ८०० युरोसम्म जरिवाना तिराउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *