सर्लाही, २२ भदाै । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि अन्तर नगर यातायात सञ्जाल विकास गरिने काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी छिन् ।
उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना गर्ने तयारीमा महानगर छ । १ वैशाख २०८३ देखि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले आफ्नो प्रतिवेदन महानगरलाई बुझाएको छ ।
काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यस्तो अध्ययन गरेको थियो ।
समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य थिए ।
प्रतिवेदनमा परीक्षणकालीन सेवाको ३ महिना अवधिको समीक्षा गरिएको छ । यस अवधिमा ६६ हजार ९५२ जना यात्रुले सेवा लिएको पाइएको छ ।
एउटा बसले दैनिक औसत १४२ जना यात्रु बोक्ने गरेको र यसबाट दैनिक ३ हजार १३४ रुपैयाँ आम्दानी भएको छ । एक बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपैयाँ रहेको छ ।
यसरी हेर्दा दैनिक प्रतिबस १ हजार ६९० रुपियाँ (करिब ३५ प्रतिशत) घाटा भइरहेको प्रतिवेदनले औँल्याएको छ ।
अध्ययनले रातको ८ बजेदेखि ९ बजेसम्मको समयमा सबैभन्दा बढी (४१.५६ प्रतिशत) यात्रुको चाप रहने गरेको देखाएको छ । यसमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक र दैनिक ज्यालादारी गर्ने मजदुरहरूको संख्या धेरै छ ।
रुटअनुसारको चाप हेर्दा, थानकोट एअरपोर्ट रुटमा ५१.५५ प्रतिशत र बुढानीलकण्ठ लगनखेल रुटमा ४८.४५ प्रतिशत यात्रुको भार देखिन्छ ।
यसरी यात्रा गर्ने यात्रुमा ४७ प्रतिशत यात्रुले छोटो दुरी अर्थात् ५ किलोमिटरभित्रको दुरीमा यात्रा गरेका छन् । ३२ प्रतिशत यात्रुले मध्यम दुरी र २१ प्रतिशत यात्रुले लामो दुरीको यात्रा गरेका छन् ।
छोटो दुरीको भाडा २०, मध्यमको २५ र लामो दुरीको भाडा ३० रुपयौं तय गरिएको छ ।
अहिले ७ वटा बसबाट नागढुङ्गा एयरपोर्ट र लगनखेल बुढानीलकण्ठ रुटमा सेवा प्रदान गरिएको छ । यसलाई बढाएर २८ पुर्याउन समितिले सिफारिस गरेको छ ।
प्रस्तावित नयाँ रुटहरूमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथ (रिङरोड)मा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायुसेवा निगमसम्म रहेका छन् । यी रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र र नाकालाई जोडछ ।
