सर्लाही, २२ भदाै । भदौ १० को विनाशकारी भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा यसअघि कहिल्यै नभएको स्तरमा ड्रोनको प्रयोग भइरहेको छ ।

सजिलै पुग्न नसकिने बस्ती, ध्वस्त सडक तथा पुल र जोखिमपूर्ण भूगोलका कारण सुरक्षाकर्मी तथा उद्धारकर्मी पुग्न नसक्ने स्थानमा ड्रोन पठाएर अवस्थाको जानकारी लिने, सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने, राहत सामग्री पुर्‍याउनेदेखि शवसमेत सुरक्षित स्थानमा ल्याउनेसम्मका काममा ड्रोनको प्रयोग बढेको हो ।

ड्रोन प्रविधिको प्रयोगले उद्धारकर्तालाई सहयोग पुग्नुका साथै उनीहरूको सुरक्षामा पनि सघाइरहेको छ। नेपालमा यसअघि पनि भूकम्पलगायतका विपद्मा ड्रोन प्रयोग नभएको भने होइन । तर, भोटेकोशी बाढीपछि भने यसको प्रयोगको दायरा र प्रविधिको विविधता निकै फराकिलो ढंगले विस्तार भएको छ ।

अहिले सरकारी निकायसँगै विभिन्न संघ/संस्था, स्वदेशी ड्रोन अपरेटर तथा विदेशी उद्धार टोलीले फरक–फरक क्षमताका ड्रोन परिचालन गरेका छन् । 

विशेषगरी रसुवाका जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका तथा सम्पर्कविहीन कामदारको खोजीमा थर्मल क्यामेरा जडित ड्रोन प्रयोग भइरहेको छ ।

यस्तो ड्रोनले मानिसको शरीरबाट निस्कने तापक्रम पहिचान गर्दै अँध्यारो तथा सीमित दृश्य भएका ठाउँमा सम्भावित व्यक्तिको अवस्थाबारे जानकारी दिन सघाइरहेको छ ।

बाढी प्रभावित क्षेत्रको जलविद्युत् परियोजनाभित्र सुरुङमा फसेकाहरूको उद्धार गर्न थर्मल ड्रोन प्रयोग गरी खोजी हुँदै आइरहेको छ ।

यस्तै, नुवाकोटको देवीघाटलगायतका क्षेत्रमा मानिस तथा सामग्रीसम्म पुग्न कठिन भएका स्थानमा ड्रोनले फरक कामसमेत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *