बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

Byसदाम हुसैन

२०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार

सर्लाही, २२ भदाै । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।

त्रिशूली नदीमा आएको बाढीको कटानका कारण भदौ १४ गते कृष्णभीरमा सडक भासिएको थियो । सडक अवरुद्ध भएपछि अहिले नदीतर्फको भागबाट पर्खाल काटेर सडक निर्माण गर्ने काम भइरहेको छ ।

सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार जोखिम मोलेर भए पनि सडक खुलाउने काम भइरहेको छ। भूगर्भविद् तथा इन्जिनियरको परामर्शमा सडक खुलाउने काम भइरहेको उनले बताए ।

बाढीको सम्भावना अझै करिब एक महिना रहने भएकाले थप क्षति नहोस् भनेर आवश्यक सतर्कता अपनाइएको महानिर्देशक जैसीले जानकारी दिए ।

उनका अनुसार भविष्यमा यस क्षेत्रमा देखिएको समस्याको स्थायी समाधानका लागि सुरुङमार्ग बनाउने वा पारीपट्टि पुल हालेर सडक लैजाने दुई विकल्पमा प्राविधिक तथा लागत अध्ययन भइरहेको छ ।

त्रिशूली नदीको कटानका कारण उक्त राजमार्गको करिब २०० मिटर सडक भासिएको थियो । अहिले भित्तातर्फबाट कटान गरी सडक निर्माणको काम भइरहेको छ । सडक निर्माणका लागि दुवैतर्फबाट पाँचवटा मेसिन सञ्चालनमा छन् ।

सडकखण्ड अवरुद्ध भएपछि काठमाडौं जाने–आउने सवारीसाधनले वैकल्पिक राजमार्ग प्रयोग गर्दै आएका छन् । मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ ।

सडक विभागले सडकलाई जतिसक्दो छिटो अस्थायी रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *