सर्लाहीमा बालबालिका लागुऔषधको सिकार, कडा कारबाहीको माग

Byसदाम हुसैन

२०८३ भाद्र २३, मंगलवार २०८३ भाद्र २३, मंगलवार २०८३ भाद्र २३, मंगलवार

सर्लाही, २३ भदाै । सर्लाहीमा बालबालिका तीव्र रूपमा लागुऔषध तथा कुलतको सिकार बन्दै गएको भन्दै सर्लाही जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष वेदप्रकाश झाले कडा कानुनी कदम चाल्न माग गर्नुभएको छ ।

अध्यक्ष झाले जिल्ला प्रशासन कार्यालय, सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै १८ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ, मदिरा, प्रतिबन्धित औषधि तथा नशालु घोलक पदार्थ बिक्री-वितरणमा कडाइ गर्न माग गर्नुभएको हो ।

जिल्लाका विभिन्न स्थानमा रहेका पसलबाट बालबालिकालाई यस्ता पदार्थ सहजै उपलब्ध भइरहेको पाइएपछि सञ्जालले कडा अनुगमन र कानुनी कारबाहीको माग गरेको जनाएको छ ।

नेपालको संविधानको धारा ३९ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ लाई उद्धृत गर्दै अध्यक्ष झाले बालबालिकालाई नशालु पदार्थ बिक्री गर्नु गम्भीर कानुनी अपराध भएको बताउनुभएको छ ।

उहाँले जिल्लाका सम्पूर्ण स्थानीय तह, प्रहरी प्रशासन तथा उद्योग वाणिज्य संघमार्फत तत्काल पत्राचार गरी पसल तथा व्यवसायको नियमित अनुगमन गर्न र गैरकानुनी रूपमा बालबालिकालाई यस्ता पदार्थ बिक्री-वितरण गर्ने सञ्चालकलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

बालबालिकालाई लागुऔषध तथा कुलतबाट जोगाउन स्थानीय तह, सुरक्षा निकाय, व्यवसायी, अभिभावक र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको अध्यक्ष झाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *