सर्लाही, २४ भदाै । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ प्रतिक्रान्तिकारी विध्वंस भएकाले भाद्र २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनकारुपमा स्थापित गरेको बताएका छन् ।
बुधबार प्रेस विज्ञपित जारी गर्दै प्रचण्डले गत वर्ष भदौ २४ गते नेपाली जनताको आत्म निर्णयको अधिकार, राष्ट्रिय स्वाधिनता र नेपाली इतिहासका गौरव र धरोहर माथि विध्वंस गरिएको र त्यसले समेत यसलाई कालो दिनको रुपमा स्थापित गरेका बताएका हुन् ।
‘सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य, सुशासन र अवसरमा समानताको मागसहित २०८२ भदौ २३ गते सुरू भएको जेन–जी आन्दोलनले आज एक वर्ष पूरा गरेको छ,’ प्रचण्डले भनेका छन्, ‘जेन–जीको आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरूद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न तथा सामाजिक संजाल उत्प्रेरित आन्दोलन थियो ।
युवाहरुको आवाजलाई संवेदनशीलरुपमा लिएर सम्बोधन गर्नतिर लाग्नुको सट्टा राज्यले दमनको बाटो रोज्यो। उत्पन्न नयाँ परिस्थितिबाट फाइदा उठाउँदै नियोजितरुपमा परिचालित संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरे।’
भाद्र २४ गते देशका ऐतिहासिक तथा पुरातात्विक धरोहर शिंहदरवारदेखि संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंश मच्चाइएको भन्दै प्रचण्डले भनेका छन्, ‘आन्दोलनले उग्र र हिंसात्मक रुप लिन थालेपछि २३ गते दिउसो बास्तविक जेन्जी अभियन्ताहरुले ‘घुसपैठ भयो’ र ‘घर फर्कौ’ भनेको तथ्य महत्वपूर्ण छ।’
उनले युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंशमा परिणत गर्ने नियोजित कार्य एउटै विषय नभएको भनेका छन्।
‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंशमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन। दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन । वस्तुतः प्रतिक्रान्तिकारी विध्वंसले भाद्र २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनकारुपमा स्थापित गरेको छ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको आत्म निर्णयको अधिकार, राष्ट्रिय स्वाधिनता र नेपाली इतिहासका गौरव र धरोहर माथिको विध्वंसले समेत यसलाई कालो दिन नै बनाएको छ।’
आफ्नो पार्टीले सामाजिक सञ्जालमाथिको प्रतिबन्धदेखि नै अभिव्यक्ति स्वतन्त्रता र जनताको लोकतान्त्रिक अधिकारको पक्षमा स्पष्ट धारणा राख्दै आएको प्रचण्डको भनाई छ।
‘हाम्रो नेतृत्वमा रहेको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढाइरहेको अवस्थामा हामीलाई हठात् सरकारबाट हटाइएको थियो । हामी न गोली चलाउने पक्षका थियौँ, न सिंहदरबार जलाउने। त्यसैले जेन–जी विद्रोहका नाममा हाम्रो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ।
उनले भदौ २४ मा भएको घटनाको सत्य स्थापित गर्न निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन अनिवार्य अनिवार्य रहेकोमा पनि जोड दिएका छन्।
‘को दोषी थियो? आन्दोलनमाथि दमन किन र कसरी भयो? कसले आन्दोलन भड्कायो? कसले हिंसा, लुटपाट र विध्वंश मच्चायो? त्यसबाट लाभ कसले उठायो? र, यसले नेपालको लोकतान्त्रिक प्रक्रियामा कस्तो प्रभाव पा¥यो?’ विज्ञप्तिमा भनिएको छ, ‘यी सबै प्रश्नको सत्यतथ्य उजागर गर्नुपर्छ। दोषी जोसुकै होस्, जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा होस्, कानुनको दायरामा ल्याइनुपर्छ।’
प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट, तोडफोड र आगजनी निरन्तर हुनु, संगठित समूहको परिचालन भएको देखिनु तथा प्रज्वलनशील पदार्थको प्रयोगलगायतका घटनाले यस प्रकरणका पछाडि रहेका गम्भीर प्रश्नलाई अझ बलियो बनाएको दाबी पनि उनले गरेका छन्।
‘त्यसपछि भएका संसद् विघटन, गैरदलीय सरकार गठन, निर्वाचनको घोषणा र राज्यका विभिन्न निर्णयहरूले समेत घटनाको समग्र सत्य निरूपणका लागि थप अनुसन्धान आवश्यक रहेको तथ्यलाई स्पष्ट पार्दछन्,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडसम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदनले समेत घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको स्मरण प्रचण्डले गरेका छन्।
‘आयोगको प्रतिवेदन दराजमा थन्क्याउने विषय होइन, कार्यान्वयन गर्ने दस्तावेज हो । प्रतिवेदनमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी सम्पूर्ण दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक छ,’ उनले भनेका छन्।
‘आजको अर्को गम्भीर प्रश्न हो– जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो?’ प्रचण्डले भनेका छन्, भ्रष्टाचार अन्त्य हुन्छ, सुशासन स्थापित हुन्छ, रोजगारी र अवसर बढ्छन् तथा राज्य जनताप्रति उत्तरदायी हुन्छ भन्ने अपेक्षा गरेका नागरिकहरू आज फेरि निराश छन् । महँगी बढेको छ, अर्थतन्त्र शिथिल छ, व्यवसायी निराश छन्, रोजगारीका अवसर पर्याप्त छैनन्, विदेसिने युवाहरूको संख्या दिनहुँ बढ्दो छ, सार्वजनिक ऋण् बढिरहेको छ, जनतामाथि करको बोझ थपिएको छ।’
विपद्का बेला समेत नागरिकले समयमै उद्धार, राहत र पुनःस्र्थापना पाउन नसक्ने अवस्था देखिएको प्रचण्डले बताएका छन्।
‘सुकुम्बासीदेखि गरिव र उत्पीडित वर्ग र समुदायमाथि निरंकुशताको डण्डा बर्सिरहेको छ,’ उनले भनेका छन्, ‘यसबीच नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्ने प्रस्ताव अघि सारेको छ। त्यसले संविधानका आधारभूत सिद्धान्त र मान्यतामा नै परिवर्तनको प्रयास देखाएको छ।’
प्रचण्डले संविधान संशोधन समयको आवश्यकता हुन सक्ने तर संविधानको मूल आत्मा र नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि समाप्त गर्ने साधन संविधान संशोधन बन्न नसक्नेमा पनि जोड दिएका छन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ता नेपाली जनताको संघष र ठूलो बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि हुन्। यी उपलब्धिलाई कमजोर पार्ने, लोकतान्त्रिक संस्थाहरूलाई निष्प्रभावी बनाउने वा निरंकुशताको बाटो खोल्ने कुनै पनि प्रयासको हाम्रो पार्टीले दृढतापूर्वक प्रतिवाद गर्दछ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ।
‘जेन–जी आन्दोलनले एउटा गम्भीर सन्देश दिएको छ– युवाको आवाजलाई दबाएर होइन, सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रका कमजोरीको उपचार लोकतन्त्र समाप्त गर्नु होइन, लोकतन्त्रलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु हो। त्यसलाई हामीले ‘लोकतन्त्रको सर्भिसिङ’ भन्दै आएका छौं।’
उनले आजको दिन केवल विगत सम्झने दिन नभएर यो राज्यलाई प्रश्न गर्ने, सत्य खोज्ने र भविष्यको बाटो तय गर्ने दिन भएको बताएका छन्।
‘हाम्रो पार्टी विगतका आफ्ना अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रियालाई अघि बढाउन प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हामी जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै प्रतिगामी, निरंकुश र जनविरोधी प्रवृत्तिका विरूद्ध शान्ति, संविधान र लोकतन्त्र पक्षधर सम्पूर्ण राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई एकताबद्ध हुन हार्दिक अपिल गर्दछौं।’
