सर्लाही, २५ भदाै । मधेश प्रदेशमा लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले अभियान तीव्र बनाए पनि यसको गतिविधि बढ्दै गएको देखिएको छ ।
प्रदेशका विभिन्न जिल्लामा बुधबार मात्रै प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई जना नेपाली र दुई जना भारतीय नागरिक रहेका छन् ।
तीन वर्षमा २ हजार ८११ जना पक्राउ
पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशका आठवटै जिल्लाबाट दुई हजार ८११ जनालाई प्रदेशका विभिन्न स्थानबाट पक्राउ गरेका छन् ।
सो अवधिमा लागूऔषधसम्बन्धी दुई हजार १२१ वटा मुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा दुई हजार ५५४ नेपाली र २५४ विदेशी नागरिक रहेका छन् ।
गत आर्थिक वर्षमा मात्रै प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ७८६ नेपाली, ८४ भारतीय र एक जना अन्य विदेशी गरी ८७१ जना पक्राउ परेका थिए ।
उक्त अवधिमा लागूऔषधसम्बन्धी ६३० वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा लागूऔषधसहित ८३६ जना पक्राउ परेका थिए भने सो अवधिमा ५८५ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए ।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशबाट लागूऔषधसहित एक हजार १०४ जना पक्राउ परेका थिए । उक्त वर्ष ७९७ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।
प्रहरीका अनुसार सीमावर्ती भारतीय बजारमा पुगेर लागूऔषध सेवन गर्ने, खरिद गर्ने र नेपालतर्फ ल्याउने क्रममा पक्राउ पर्नेहरूमा युवाको संख्या उल्लेख्य छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओमप्रसाद अधिकारीका अनुसार लागूऔषध सेवन तथा कारोबारको आरोपमा पक्राउ पर्नेहरूमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन् ।
