११ कसूरमा अनुसन्धान भइरहेका यादव काठमाडौँबाट पक्राउ

Byसदाम हुसैन

२०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार

सर्लाही, २५ भदाै । मधेश प्रदेशसभाका पूर्व सदस्य एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता अशोककुमार यादवलाई काठमाडौँमा पक्राउ गरी सर्लाही ल्याइएको छ ।

मङ्गलबार ललितपुर महानगरपालिका–२३, धापाखेलबाट पक्राउ परेका यादवलाई सर्लाही ल्याएर कारवाही अघि बढाइएको हो ।

यादव कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रवका फरार प्रतिवादी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यादवविरुद्ध उक्त मुद्दामा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतले बुधबार पाँच दिन म्याद प्रदान गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो ।

कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रव कसूरबाहेक यादवविरुद्ध गत जेठ २५ गते डिउटीमा रहेका प्रहरी कर्मचारीलाई कविलासी नगरपालिका–८, अगर्वामा कुटपिट गरी घाइते बनाएको र प्रहरीको मोटरसाइकलमा तोडफोड गरेको कसूरमा समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार प्रेस विज्ञप्ती जारी गरी कविलासी नगरपालिका–१०, सलेमपुर निवासी पूर्व मधेश प्रदेशसभा सदस्य ५० वर्षीय अशोककुमार यादवविरुद्ध यसअघि विभिन्न मितिमा राज्यविरुद्धको कसूर, चोरी सम्वन्धी कसूर, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्ति विरुद्धको कसूर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रवलगायत ११ वटा कसूरमा अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

यादव गत वर्ष सर्लाहीका तत्कालिन एसपी योगेन्द्रकुमार खड्कासँग गालीगलौचमा उत्रिएपछि चर्चामा आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *