सर्लाही, २६ भदाै । बारा जिल्ला अदालतले तीन वर्षीया बालिकाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा मुख्य प्रतिवादी प्रोग्रेस चौधरी भन्ने पुरगेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार मुख्य प्रतिवादी प्रोग्रेस चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ७२ बमोजिम २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत दिन आदेश दिएको हो ।
तोकिएको धरौटी वा जमानत दिन नसकेमा कानुन बमोजिम थुनामा राख्नका लागि वीरगन्ज, पर्सास्थित कारागार कार्यालयमा पठाउन निर्देश गरिएको छ ।
त्यसैगरी, यस मुद्दामा अभियोग लगाइएका अन्य प्रतिवादीहरू इन्द्रजित चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नवीन विक, टेकबहादुर थापा मगर, शेष हसमुदिन आलम, सबिता चौधरी र विन्दु देवी चौधरीको हकमा भने अभियोग दाबी पुष्टि गर्ने पर्याप्त प्रमाण तत्काल प्राप्त मिसिलमा संलग्न नरहेको ठहर गरिएको छ ।
उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम तारेखमा राखी पुर्पक्ष गर्न तथा दफा ७९ बमोजिम आदेश दिइएको छ ।
गत २०८३ साल साउन ३१ गते बिहान ३ वर्षीया बालिका खेलिरहेको अवस्थामा हराएकी थिइन् ।
खोजतलास गर्दा भदौ २ गते दिउँसो जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ भक्तिनगर टोलस्थित वीरबहादुर रोक्काको खाली घरभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।
मुख्य प्रतिवादी प्रोग्रेस चौधरीले विद्युतीय लाइन जडान गर्ने बहानामा बालिकालाई आफ्नो खालि घरमा लगेर जबरजस्ती करणी गरी क्रुरतापूर्वक हत्या गरेको जाहेरीमा उल्लेख छ ।
अदालतले यस मुद्दामा फरार रहेका प्रतिवादीहरूको नाममा कानुनबमोजिम म्याद जारी गरी नियमानुसार पेस गर्न आदेश दिएको छ ।
