स्वास्थ्य व्यवसायीको दर्ता र प्रमाणपत्रमा क्यूआर कोड लागू

Byसदाम हुसैन

२०८३ कार्तिक २८, शनिवार २०८३ कार्तिक २८, शनिवार २०८३ कार्तिक २८, शनिवार

सर्लाही, २८ कार्तिक । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले संस्थागत सुधारका योजना अघि सारेको छ ।  परिषद्ले अनलाइन सेवा, प्रमाणपत्रको डिजिटल प्रमाणीकरण, कानुनी सुधार तथा स्वास्थ्य व्यवसायीको कार्यक्षेत्र निर्धारणलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना सार्वजनिक गरेको हो । 

परिषद्का रजिष्ट्रार रमेश श्रेष्ठले संस्थालाई पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले निर्णय तथा सुधारका कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

उहाँले स्वास्थ्य व्यवसायीको दर्ता, प्रमाणपत्र वितरण, परीक्षा प्रणाली र नियमन प्रक्रियालाई व्यवस्थित बनाउने गरी तयारी गरिएको जानकारी गराउनुभयो । 

रजिष्ट्रार श्रेष्ठले परिषदमा नयाँ नेतृत्व जिम्मेवारी सम्हालेपछि परिषद्को सेवा प्रवाह र संस्थागत कार्यसम्पादन सुधारलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।

परिषद्ले सार्वजनिक गरेको निर्णयअनुसार अब स्वास्थ्य व्यवसायीको दर्ता तथा प्रमाणपत्रसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाइनेछ । 

उहाँले मास्टर अफ पब्लिक हेल्थ (एमपीएच) लगायतका विषयमा स्नातकोत्तर तहका विशेषज्ञता दर्तालाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिनुभयो । त्यस्तै, ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) र एमपीएचलगायतका विधामा कार्यक्षेत्र तथा अभ्यासको दायरा (स्कोप अफ प्राक्टिस) निर्धारण गरी प्रमाणपत्र जारी गर्ने प्रक्रिया अघि बढाइएको छ । 

स्वास्थ्य व्यवसायीको दर्ता नवीकरणलाई व्यवस्थित बनाउने क्रममा प्रिस्क्रिप्सन, रेफरल स्लिप र व्यावसायिक आचारसंहितासम्बन्धी व्यवस्थालाई पनि समेटिएको छ । स्वास्थ्य व्यवसायीले आफ्नो योग्यता र निर्धारित कार्यक्षेत्रभित्र रहेर सेवा प्रदान गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउने परिषद्को योजना छ । 

परिषद्का अध्यक्ष सगुन पौडेलले विद्यमान कानुनी व्यवस्थालाई समयानुकूल बनाउन आवश्यक संशोधनको तयारीसमेत अघि बढाएको जानकारी दिनुभयो । 

उहाँले त्यसका लागि कार्यदल गठन गरी कानुनी तथा नीतिगत सुधारका विषयमा अध्ययन गर्ने योजना बनाइएको छ । अध्यक्ष पौडेलले स्वास्थ्य व्यवसायीविरुद्ध पर्ने उजुरीको छानबिन, अनुगमन र कारबाही प्रक्रियालाई व्यवस्थित बनाउने विषयलाई पनि प्राथमिकता दिएको जानकारी दिनुभयो । 

डिजिटल सेवामा जोड

परिषद्ले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन दर्ता तथा नवीकरण प्रक्रियालाई अनलाइन प्रणालीमा लैजाने भएको छ । अध्यक्ष पौडेलले प्रमाणपत्रको आधिकारिकता जाँच गर्न क्यूआर कोडको व्यवस्था गर्ने तथा सेवाग्राहीले आफ्नो दर्ता र प्रमाणपत्रको अवस्था आफैँ हेर्न सक्ने ‘नो योर स्टाटस’ प्रणाली विकास गर्ने योजना सार्वजनिक गरिएको बताउनुभयो । 

उहाँले परिषद्को दर्ता परीक्षालाई थप विश्वसनीय र व्यवस्थित बनाउन प्रश्न बैंक निर्माण गरिने जानकारी दिनुभयो । उहाँले प्रश्नपत्र निर्माण तथा व्यवस्थापन प्रक्रियाको समीक्षा गरी परीक्षामा एकरुपता र पारदर्शिता कायम गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

परिषद्ले विद्यार्थीको अनुसन्धानमूलक क्षमता विकास गर्न ‘स्टुडेन्ट थेसिस ग्रान्ट’ उपलब्ध गराउने, वार्षिक जर्नल प्रकाशन गर्ने र संस्थाको आगामी पाँच वर्षको विकास योजना तयार गर्ने कार्यक्रम पनि अघि सारेको छ । 

स्वास्थ्य व्यवसायीको आचारसंहिता परिमार्जन, स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा निरीक्षण र स्वास्थ्य जनशक्तिसम्बन्धी नीतिगत संवादलाई पनि परिषद्ले प्राथमिकतामा राखेको छ । यसका लागि स्वास्थ्य मन्त्रालय, अन्य नियामक निकाय, स्वास्थ्य शिक्षण संस्था तथा सरोकारवालासँग समन्वय र सहकार्य विस्तार गरिने छ ।

उहाँले परिषद्ले आफ्ना कामकारबाहीबारे सेवाग्राहीलाई जानकारी गराउन सचेतनामूलक भिडियो सामग्री निर्माण गर्ने र प्रमाणपत्र तथा पत्यारपत्रलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने योजना बनाएको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *