छठको दोस्रो दिन आज खरना विधि श्रद्धापूर्वक मनाइँदै

Byसदाम हुसैन

२०८३ कार्तिक २८, शनिवार २०८३ कार्तिक २८, शनिवार २०८३ कार्तिक २८, शनिवार

सर्लाही, २८ कार्तिक । लोकआस्था र सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन शनिबार सप्तरीसहित तराई-मधेशका विभिन्न जिल्लामा खरना विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यस अवसरमा व्रतालु दिनभर उपवास बसेर साँझ विधिपूर्वक पूजा गरी प्रसाद ग्रहण गर्ने तयारीमा जुटेका छन् ।

छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनाका दिन व्रतालु बिहानदेखि निराहार व्रत बसेर साँझ स्नान गरी घरको आँगन वा पूजाकोठामा पूजा गर्ने परम्परा रहेको व्रतालु सुनिता कुमारीले बताउनुभयो ।

विशेषगरी माटोको चुल्होमा शुद्धतापूर्वक पकाइएको खीर, रोटी तथा गुड र दूधबाट तयार पारिएको प्रसाद सूर्यदेव र छठी मातालाई अर्पण गरिने उहाँले बताउनुभयो ।

राजविराजकी व्रतालु राखी देवीका अनुसार खरना विधिमा शुद्धता र पवित्रतालाई विशेष महत्व दिइन्छ । पूजा सम्पन्न भएपछि खीर, रोटी र अन्य प्रसाद परिवारका सदस्य तथा छिमेकीसँग बाँडेर ग्रहण गर्ने परम्परा रहेको उहाँले बताउनुभयो । खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुले छठको मुख्य निर्जल उपवास सुरु गर्छन् ।

खरनापछि व्रतालुले करिब ३६ घण्टासम्म पानीसमेत नपिई निर्जल उपवास बस्ने गर्छन् । परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ श्रद्धा र निष्ठापूर्वक यो व्रत बस्ने परम्परा रहेको छ ।

छठको तेस्रो दिन आइतबार साँझ व्रतालु परिवारका सदस्य र आफन्तसहित नदी, पोखरी, तलाउ तथा अन्य जलाशयमा बनाइएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् ।

बाँसको सुप र अन्य पूजासामग्रीमा ठकुवा, भुसुवा, फलफूल, उखु र नरिवललगायतका प्रसाद सजाएर सूर्यलाई अर्पण गर्ने चलन छ ।

पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

छठलाई लक्षित गरी राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न गाउँ तथा बस्तीमा छठघाट व्यवस्थापन, सरसफाइ, सजावट र प्रकाशको व्यवस्था गर्ने काम तीव्र पारिएको छ ।

स्थानीयवासी सामूहिक रूपमा घाट सरसफाइ गर्ने, नदी तथा पोखरीका किनार व्यवस्थित गर्ने र पूजास्थल सजाउने काममा जुटेका छन् ।

विभिन्न स्थानका छठघाटलाई आकर्षक बनाउन रङ्गीन बत्ती जडान गर्ने काम भइरहेको स्थानीय सुनिलकुमार साहले बताउनुभयो ।

छठ पर्वमा व्रतालुका साथै परिवारका सदस्य, आफन्त, छिमेकी र समुदायका अन्य व्यक्तिको पनि सहभागिता रहने गरेको छ । जातीय, भाषिक तथा सामाजिक विविधताबीच आपसी सद्भाव, सहकार्य र एकताको सन्देश दिने यस पर्वले सप्तरीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप बलियो बनाउँदै आएको छ ।

शुद्धता, संयम, समर्पण र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वले सूर्यको महत्वसँगै जलाशय तथा वातावरण संरक्षणको सन्देशसमेत दिने गरेको पण्डित रत्नेश्वर झाले बताउनुभयो । नहाय–खाय विधिबाट सुरु भएको छठको खरना विधिसँगै सप्तरीका गाउँदेखि सहरसम्म पर्वको रौनक बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *