सर्लाही, २८ कार्तिक । मिथिलाञ्चलको आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जनकपुरधाम आउदैंछन् ।
पत्नी निकिता पौडेलसहित जनकपुर आउन लागेका लामिछानेले छठको पूजा–आराधनामा सहभागी हुनुका साथै धार्मिक स्थलको भ्रमण र पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
रास्वपा मधेस प्रदेश कार्यालयले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार लामिछाने शनिबार दिउँसो जनकपुरमा आउने त्यसपछि जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा सम्बोधन कार्यक्रममा सहभागी हुनेछन् ।
राजनीतिक भेटघाटसँगै मधेसको धार्मिक तथा सांस्कृतिक परिवेशसँग जोडिने उद्देश्यले तयार पारिएको भ्रमण तालिकामा पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूसँग अन्तरक्रियाको कार्यक्रमसमेत राखिएको छ ।
शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उनी पार्टीका नेता तथा कार्यकर्तासँग सामूहिक भेटघाट र अन्तरक्रियामा सहभागी हुनेछन् ।
त्यसपछि साँझ छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुने कार्यक्रम छ । भ्रमणको दोस्रो दिन आइतबार लामिछानेले जनकपुरधामका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका मठमन्दिरहरूको दर्शन गर्नेछन् ।
बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जानकी मन्दिर, जनक मन्दिर, राममन्दिर, राजदेवी मन्दिर, भूतनाथ मन्दिरलगायत धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ ।
आइतबार दिउँसो ३ बजे जनकपुरधामको ऐतिहासिक गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा समेत उनी सहभागी हुनेछन् । मिथिलाञ्चलको धार्मिक आस्थाको केन्द्र मानिने गंगासागरमा छठ पर्वका अवसरमा हजारौँ श्रद्धालु अर्घ्य दिन पुग्ने गर्छन् ।
भ्रमणको अन्तिम दिन सोमबार बिहान ५ बजे छठ घाटमा हुने पूजा–आराधना तथा अर्घ्य अर्पण कार्यक्रममा सहभागी हुने र त्यसपछि जनकपुर विमानस्थलबाट प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेस प्रदेश कार्यालयले जनाएको छ ।
रास्वपा मधेस प्रदेशका महामन्त्री मनिष कुमार साहद्वारा जारी सूचनामा सभापतिको भ्रमणलाई सफल बनाउन प्रदेशअन्तर्गतका सम्पूर्ण तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक समन्वय र उपस्थितिका लागि आग्रह गरेका छन् ।
छठ पर्वलाई धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा लिइने गरिन्छ । यस्तो अवसरमा लामिछानेको जनकपुरधाम भ्रमणलाई रास्वपाले मधेसको धार्मिक तथा सांस्कृतिक परिवेशसँग जोडिने अवसरका रूपमा उपयोग गर्न खोजेको देखिन्छ ।
