भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

Byसदाम हुसैन

२०८३ भाद्र २८, आइतवार २०८३ भाद्र २८, आइतवार २०८३ भाद्र २८, आइतवार
default

सर्लाही, २८ भदाै । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ । तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा मात्रै ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडीएनए) प्रतिवेदनअनुसार बाढीबाट १८ विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । ती भवनका १५२ वटा कोठामा आंशिक र १५६ वटा कोठामा पूर्ण क्षति पुगेको छ ।

प्रतिवेदनअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुई भवनका ११ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट ३ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

उत्तरगया गाउँपालिकाका तीन विद्यालयका छ भवनमा क्षति पुगेको छ । ती विद्यालयका ३६ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यहाँ १२ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा धेरै नौ विद्यालय प्रभावित भएका छन् । ती विद्यालयका ३२ भवनमा क्षति पुगेको छ । ६१ कोठामा आंशिक र ८९ कोठामा पूर्ण क्षति पुगेको छ । विदुरमा मात्रै ३६ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालयमा क्षति पुगेको छ। त्यहाँका १० भवनका ७७ कोठामा आंशिक र आठ कोठामा पूर्ण क्षति भएको छ। गल्छीमा १० करोड ६१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

धादिङकै बेनिघाट रोराङ गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका १२ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । उक्त विद्यालयमा चार करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सिद्धलेक गाउँपालिकाको एउटा विद्यालयका चार भवनका १४ कोठामा आंशिक क्षति पुगेको छ । त्यहाँ एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

विद्यालयका भवनबाहेक शैक्षिक सामग्री तथा अन्य शैक्षिक सम्पत्तिमा २४ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिवेदनले बाढीबाट प्रभावित विद्यालय क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि चार अर्ब २३ करोड ३५ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *