सर्लाही, २८ भदाै । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका छन् ।

काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा आइतबार बोल्दै आईजीपी कार्कीले सवारीसाधनको बीचमा जोखिम मोलेर ट्राफिक प्रहरी उभिएर हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन् ।

उनले ट्राफिक व्यवस्थापनलाई प्रविधिमा आधारित बनाउँदै एआई-सक्षम सीसीटीभी, व्यवस्थित बस स्टप, बसपार्क तथा पार्किङ स्टेसन निर्माण र वैज्ञानिक पार्किङ प्रणाली विकासमा जोड दिनुपर्ने बताए ।

कार्कीले ट्राफिक व्यवस्थापनसँगै फुटपाथ व्यवस्थापन र आपत्कालीन उद्धार तथा प्रतिकार्य प्रणालीलाई पनि थप व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिका र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए ।

उनका अनुसार राजधानीमा बढ्दो जनसंख्या, तीव्र सहरीकरण र सवारी चापसँगै सार्वजनिक स्थान व्यवस्थापन, फोहोर मैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापनका विषय पनि थप जटिल बन्दै गएका छन् । यस्ता चुनौती समाधान गर्न स्थानीय तह र नेपाल प्रहरीबीच निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

आईजीपी कार्कीले ७५३ वटै स्थानीय तहलाई नेपाल प्रहरीसँग भौतिक पूर्वाधार निर्माणलगायत सुरक्षा व्यवस्थापनका विषयमा सहकार्य गर्न सम्बन्धित मन्त्रालयमार्फत पत्राचार भइरहेको जानकारी दिए ।

स्थानीय तहले आवश्यकताअनुसार प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद् उद्धार सामग्री उपलब्ध गराउने तथा सीसीटीभी जडान र विस्तारमा सहकार्य गर्नुपर्ने उनले बताए ।

यस्ता सहकार्यले नेपाल प्रहरी, महानगर प्रहरी र नागरिकबीचको समन्वयलाई थप प्रभावकारी बनाउने कार्कीको भनाइ छ ।

उनले काठमाडौँ महानगरपालिकाले सडक तथा सार्वजनिक स्थान व्यवस्थापनमा गरिरहेको कामको प्रशंसा गर्दै स्वच्छ र अवरोधरहित सार्वजनिक स्थानमा हिँड्न पाउनु नागरिकको अधिकार भएको बताए ।

राजधानीको सहरी व्यवस्थापनमा महानगरपालिकाको कार्यसम्पादनले समग्र सहरी व्यवस्थापनको अवस्थासमेत प्रतिबिम्बित गर्ने उनको भनाइ थियो ।

फोहोर मैला व्यवस्थापनमा उत्पादन स्थलदेखि अन्तिम व्यवस्थापन स्थलसम्मै चुनौती रहेको उल्लेख गर्दै कार्कीले यसको दीर्घकालीन समाधानका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने बताए ।

आगामी दिनमा महानगरपालिका र सुरक्षा निकायबीच थप योजनाबद्ध सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले ट्राफिक, फुटपाथ, पार्किङ तथा आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन संयुक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *