सर्लाही, २९ भदाै । भोटेकोशीको बाढीका कारण कटानमा परेर क्षतिग्रस्त भएकाे पृथ्वी राजमार्गको कृष्णभीर खण्ड आउँदाे असोज १ गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ ।
बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि नेपाल जिओटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक बनाइएको छ ।
हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सडकमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज १ गतेदेखि मात्र नियमित दुईतर्फी यातायात खुलाइने सडक विभागले जनाएको छ ।
सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेले असोज १ गतेदेखि सडक खुलाउने तयारी भए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
सडक विभागले बाढी र पहिरोको प्रभाव त्रिशूली र नारायणी क्षेत्रसम्मै परेकाले विपद्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपरे सडकको अवस्था बुझेर मात्र निस्कन अपील गरेको छ ।
मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ ।
