सर्लाही, ३० भदौ । नेकपाका नेता अशोक यादवको पक्राउको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार साँझ मसाल जुलुस निकालिएको छ ।
नेकपाका नेता तथा कार्यकर्ताले जिल्ला विकास समितिको तीनबिघे मैदानबाट नगरपालिका चौकतर्फ मसाल जुलुस निकालेका थिए । तर बालमन्दिर चौक पुगेपछि प्रहरीले जुलुसलाई अघि बढ्न नदिई तितरबितर गरेको थियो।
सो क्रममा प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए भने पाँच जनालाई नियन्त्रणमा समेत लिइएको छ ।
संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका थिए। उनीहरूले ‘झुटा मुद्दा खारेज गर’, ‘अशोक यादवलाई रिहा गर’, ‘छानबिन समिति गठन गर’ र ‘राजनीतिक प्रतिशोध बन्द गर’ लगायतका नारा लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवलाई गत मंगलबार ललितपुरको धापाखेलबाट पक्राउ गरी सर्लाही ल्याइएको हो ।
प्रहरीका अनुसार उनी कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादी हुन् ।
सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार जिल्ला अदालत सर्लाहीले उक्त मुद्दामा अनुसन्धानका लागि सुरुमा पाँच दिन र त्यसपछि थप छ दिनको म्याद दिएको छ ।
प्रहरीले यादवविरुद्ध राज्यविरुद्धको कसूर, चोरी, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्तिविरुद्धको कसूर, आपराधिक प्रवेश र आपराधिक उपद्रवलगायत ११ वटा विभिन्न कसूरमा अनुसन्धान भइरहेको जनाएको छ ।
गत वर्ष असारमा तत्कालीन सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँगको विवादपछि यादव चर्चामा आएका थिए ।
