सर्लाही, ३१ भदाै । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।
भोटेकोसी बाढीका कारण उत्पन्न कठिन परिस्थिति विचार गरी निगम सञ्चालक समितिले साबिककै मूल्य कायम राख्ने निर्णय गरेको हो। यो निर्णय आज भदौ ३१ देखि लागु भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ ।
यही क्रममा भदौ ३० गते आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो ।
तर निगमले बढेको खरिद मूल्यअनुसार तत्काल बिक्री मूल्य समायोजन नगर्ने निर्णय गरेको हो । जसअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल छन् ।
यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ । काठमाडौँतर्फको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ६९७ अमेरिकी डलर निर्धारण गरिएको छ ।
निगमले १४.२ किलोग्रामको एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै कायम राखेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेका बेला बिक्री मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।
