सर्लाही, १ असाेज । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गरिने भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाभरका कुल ३३ जना भाग्यशाली विजेताहरूको नाम आज घोषणा गर्न लागिएको हो ।
भदौ महिनाका विजेता ३१ जनाले जनही एक लाख रुपैयाँ र बम्पर उपहार विजेता २ जनाले १० लाख रुपैयाँ पाउने भएका छन् ।
यसअघि भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण स्थगित भएको थियो ।
स्थगित भएको सोही कार्यक्रम आज आयोजना गर्न लागिएको हो। विभागको कार्यालय लाजिम्पाटस्थित सभाहलमा आयोजना गरिने विशेष कार्यक्रममार्फत नतिजा सार्वजनिक गरिनेछ ।
सरकारले सर्वसाधारणलाई उपभोक्ताको रूपमा सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिने बानीको विकास गराउने उद्देश्यले चालू आर्थिक वर्षदेखि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
