सर्लाही, १ असाेज । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएको छ ।
पहिले जग्गा छैन भनी स्वघोषणा गरिएका उनीहरुको जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ ।
भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम, ताप्लेजुङ, झापा, काभ्रे जिल्लामा उनीहरुको तथा परिवारको नाममा जग्गा रहेको देखिएको हो ।
समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिहरूको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा रहेको भेटिएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
