सर्लाहीमा कांग्रेस सदस्यता विवाद, दुई नेताले छाडे पद

Byसदाम हुसैन

२०८३ आश्विन २, शुक्रवार २०८३ आश्विन २, शुक्रवार २०८३ आश्विन २, शुक्रवार

सर्लाही, ०२ असोज । नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ मा सक्रिय सदस्यता वितरण तथा नवीकरणको विषयलाई लिएर पार्टीका दुई नेताले राजीनामा दिएका छन् ।

कौडेना गाउँपालिका–२ का सरोजकुमारले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्र पठाउँदै कार्यवाहक जिल्ला सभापतिको पदबाट राजीनामा दिएका छन् ।

उनले कार्यवाहक जिल्ला सभापतिको पदसँगै नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

भदौ २ गतेको मितिमा लेखिएको पत्रमा सरोजकुमारले सर्लाही क्षेत्र नं. २ मा सक्रिय सदस्यता वितरणका क्रममा आफूले धोका र खेद महसुस गरेको उल्लेख गरेका छन् ।

उनका अनुसार सक्रिय सदस्यता वितरणका क्रममा लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिको पालना तथा अवलम्बन नभएको आफूले महसुस गरेका छन् ।

उनले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका संस्थापक नेताको विचार र दृष्टिकोणबाट पार्टी विमुख भएको आरोपसमेत लगाएका छन् ।

स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गराउन भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा सक्रिय सदस्यता प्रदान तथा नवीकरण गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । यसबाट सर्लाहीका कांग्रेस कार्यकर्ताको मर्म र भावनामा अतुलनीय क्षति पुगेको उनको दाबी छ ।

यसैगरी, नेपाली कांग्रेस मधेस प्रदेश क्षेत्र नं. २ (ख) का सभापति भिखारी ठाकुरले पनि सक्रिय सदस्यता वितरणमा अनियमितता भएको आरोप लगाउँदै राजीनामा दिएका छन् ।

केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा उनले सक्रिय सदस्यतामा पूर्वाग्रहरहित तरिकाले सक्रिय मतदाता नामावलीमा धाँधली गरी पठाइएको उल्लेख गरेका छन् ।

ठाकुरले आजकै मितिदेखि लागू हुने गरी क्षेत्रीय सभापतिको पदसँगै साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन् ।

यसरी एउटै क्षेत्रसँग सम्बन्धित दुई नेताको राजीनामाले नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ मा सक्रिय सदस्यता वितरण तथा नवीकरणको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि चुलिएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *