सर्लाही, ०५ असाेज । राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रधानमन्त्रीले आफ्नो बाचा र प्रतिबद्धताहरू पुरा नगरेको भन्दै त्यसलाई पूरा गराउन ‘सडकको कडा दबाबमूलक हस्तक्षेप’ र देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुरू भएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा अध्यक्ष राजेन्द्र महतोद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उक्त घोषणा गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली र नीतिको कडा आलोचना गर्दै प्रतिबद्धता कार्यान्वयनका लागि सडक संघर्ष अपरिहार्य भएको निष्कर्ष प्रतिवेदनमा पेश गरिएको छ ।
प्रधानमन्त्रीले जनकपुरधामलगायत देशका विभिन्न मञ्चहरूमा पुगेर वास्तविक अधिकारसम्पन्न संघीयता कार्यान्वयन गर्ने, प्रहरी प्रशासनको समायोजन गर्ने, निजामती सेवा ऐन अविलम्ब ल्याउने र मधेश तथा थरुहट आन्दोलनसँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुभएको थियो,’ प्रतिवेदनमा महतोले लेखेका छन् ।
सरकार स्वयंले विभिन्न कार्यदल बनाएर संविधान संशोधनका कुरा गरे ता पनि व्यवहारमा प्रहरी प्रशासन र कर्मचारीतन्त्रमाथिको केन्द्रीकृत नियन्त्रण छाड्न नचाहेको र असन्तुष्ट समुदायका मूल सवालहरूलाई ओझेलमा पार्ने काम मात्र गरिरहेको समेत भनेका छन् ।
सरकारलाई आफ्ना वाचा पूरा गराउन र जनताका मुद्दा सम्बोधन गराउन पार्टीले ‘प्रधानमन्त्रीज्यू, वाचा पूरा गर !’ भन्ने मुख्य नाराका साथ प्रदेशका राजधानीहरू र काठमाडौंको माइतीघर मण्डलामा सांकेतिक विरोध प्रदर्शन तथा सिठी जुलुस आयोजना गर्ने योजना अघि सारेको छ ।
यसैगरी, थरुहट र मधेश आन्दोलनका क्रममा गठन भएको लाल आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न, आन्दोलनका बन्दीहरूलाई रिहा गर्न र लगाइएका झुटा मुद्दाहरू फिर्ता लिन प्रधानमन्त्री कार्यालयलाई औपचारिक ज्ञापनपत्र र स्मरणपत्र बुझाइने उल्लेख छ ।
