काठमाडौं, ०७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकलाई न्याय सुनिश्चित गर्न प्रदूषण गर्ने र बढी नाफा कमाउने पक्षले क्षतिको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै गुटेरेसले तीन वर्षअघि नेपालको भ्रमणका क्रममा हिमनदी पग्लने गति बढ्दै गएको र विश्वका ‘छाना’ ढल्दै गएकोबारे आफूले चेतावनी दिएको स्मरण गरे ।
उनले त्यतिबेला आफ्नो चेतावनीलाई कतिपयले अतिरञ्जित खतराका रूपमा लिएको भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, तीव्र र व्यापक रूपमा देखिन थालेको प्रमाणित गरेको बताए ।
‘तीन वर्षअघि नेपालको पहाडमा मैले हिमनदी पग्लने गति बढ्दै गएको र विश्वका छानाहरू ढल्दै गएको चेतावनी दिएको थिएँ । कतिपयले यसलाई अतिरञ्जित खतराका रूपमा खारेज गरेका थिए,’ गुटेरेसले भने ।
उनले जलवायु परिवर्तनका प्रभावले अहिले गम्भीर रूप लिन थालेको उल्लेख गर्दै यसबाट सबैभन्दा बढी प्रभावित समुदाय र मुलुकलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
‘दुःखद घटनाहरूले पनि देखाएका छन्, प्रभावहरू चाँडै आइरहेका छन्, कडा हुँदैछन् र धेरैले अनुमान गरेभन्दा बढी फैलिरहेका छन्,’ उनले भने ।
गुटेरेसले जलवायु संकटको जिम्मेवारीबाट बढी प्रदूषण गर्ने तथा यसबाट बढी नाफा कमाउने पक्ष पन्छिन नमिल्ने बताए। जलवायु परिवर्तनका कारण भएको क्षतिको पुनःस्थापना र जोखिम न्यूनीकरणका लागि उनीहरूले थप योगदान गर्नुपर्ने उनको भनाइ थियो ।
‘सबैभन्दा बढी प्रदूषित गर्ने र सबैभन्दा बढी नाफा कमाउनेहरूले उनीहरूले गरेको क्षतिको मर्मत गर्न धेरै काम गर्नुपर्छ । प्रदूषकहरूले तिर्नुपर्छ,’ गुटेरेसले भने ।
