सर्लाही, ०७ असाेज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भइरहेको भन्ने समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट आएको जनाएको छ ।

मन्त्रालयले शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) को कानुनी प्रावधानविपरीत हुने भन्दै सो निर्देशन दिएको हो ।

पत्रमा त्यस्ता शिक्षकको थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लंघन गर्ने शिक्षकलाई शिक्षा नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले असोज ६ गते गरेको निर्णयअनुसार उक्त निर्देशन दिएको प्रस्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *