सर्लाही, ०८ असाेज । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीको गस्ती तथा सुरक्षा व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले मधेश प्रदेश प्रहरी कार्यालयलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरे ।
मन्त्री महतोका अनुसार प्रदेशको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन र प्रहरीको दैनिक कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले मोटरसाइकल उपलब्ध गराइएको हो ।
नयाँ सवारीसाधन थपिएसँगै प्रहरीको नियमित गस्ती, निगरानी तथा सुरक्षा व्यवस्थापनका कार्यमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको उनले बताए ।
मन्त्री महतोले प्रदेश सरकारले ‘सुरक्षित मधेश, समृद्ध मधेश’को नारालाई सार्थक बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने नीतिअनुसार काम गरिरहेको बताए ।
उनले बुधबार प्रदेश प्रहरीलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण गरिएको र बिहीबार सशस्त्र प्रहरीलाई थप २० वटा मोटरसाइकल हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए ।
मधेश सरकारले ‘सुरक्षित मधेश, समृद्ध मधेश’को नारालाई सार्थक बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनेतर्फ जोड दिँदै आएको छ ।
