काठमाडौं, ०९ असोज । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल ४८–२४ अंकले भारतसँग हारेको हो ।
भारतले खेलको पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम राख्दै सहज जित निकालेको हो ।
यससँगै नेपालले महिला कबड्डीमा कास्य पदकमा चित्त बुझाएको छ। यसअघि १९औँ एसियन गेम्सको सेमिफाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।
जारी प्रतियोगितामा नेपालले समूह चरणमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेईसँग हार बेहोरेको थियो । अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनल पुगेको थियो ।
जारी एसियन गेम्समा नेपालको यो दोस्रो पदक हो। यसअघि पुरुष करातेको ८४ केजी तौल समूहको कुमितेमा तेन्जिङ शेर्पाले नेपालका लागि कास्य पदक जितिसकेका छन् ।
