काठमाडौँ, १० असाेज । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले शुक्रबार संयुक्त राष्ट्र संघ (यूएन) मा सम्बोधन गर्दै भारतलाई सिन्धु नदीको पानी रोक्ने धम्की नदिन चेतावनी दिएका छन् ।

पानी रोक्ने कुनै पनि प्रयास युद्धको कार्य मानिने उल्लेख गर्दै उनले भारतलाई यस्तो गल्ती नगर्न सुझाव दिए ।

सहबाजले भने, ‘पानीलाई कहिल्यै हतियार बनाउनु हुँदैन । नदीको उद्देश्य देशहरूलाई पानी उपलब्ध गराउनु हो, विभाजन गर्नु होइन ।’

सधैँजस्तै पाकिस्तानले संयुक्त राष्ट्र संघमा फेरि कश्मीर मुद्दा पनि उठाएको छ । उसले संयुक्त राष्ट्र संघको नियमअनुसार यो समाधानका लागि आह्वान गरेको छ । 

सहबाजले भने, ‘कश्मीर हाम्रा लागि घाँटीको नसा हो। भारतले यहाँका जनतामाथि अत्याचार गरिरहेको छ ।’

सहबाजले सिन्धु जल सन्धिको मुद्दा पनि उठाए ।

उनले भने, ‘गत वर्ष पाकिस्तानसँग द्वन्द्वपछि भारतले एकतर्फी रूपमा यो सन्धि निलम्बन गर्‍यो, जसको कुनै कानुनी आधार छैन ।’

उनले संयुक्त राष्ट्र संघका विज्ञ र स्थायी मध्यस्थता अदालतले पनि यस विषयमा भारतको दाबी र कार्यलाई अस्वीकार गरेको दाबी गरे । 

उनले, ‘यसले पाकिस्तानको अडानलाई पुष्टि गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *