सर्लाही, १२ असोज । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण मधेश प्रदेशका आठ वटै जिल्लामा जनजीवन प्रभावित भएको छ ।
वर्षाका कारण विभिन्न जिल्लामा घर तथा गोठ भत्किएका छन् भने धनुषामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । सप्तरीमा मात्रै करिब २०० घरका आँगनमा पानी पसेको विवरण छ ।
प्राप्त विवरणअनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा वर्षाजन्य क्षतिको विवरण संकलन गरिएको छ । असोज ९ देखि ११ गतेसम्मका विभिन्न घटनामा घर, गोठ तथा अन्य संरचनामा क्षति पुगेको छ ।
धनुषाको मिथिला नगरपालिका-११ आपगामामा असोज ११ गते बिहान करिब ९ः१० बजे घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो ।
घरमा पाँच जनाको परिवार रहेकामा चार जना सकुशल रहे पनि रामन श्रेष्ठकी करिब ३५ वर्षीया श्रीमती कमला श्रेष्ठ पहिरोमा पुरिएकी थिइन् । उद्धारका क्रममा बिहान करिब ११ः३० बजे उनलाई मृत अवस्थामा निकालिएको थियो ।
यस्तै पर्साको ठोरीदेखि सप्तरीसम्म वर्षाका कारण घर भत्किने, छाना उडाउने, गोठ भत्किने तथा बस्तीमा पानी पस्ने घटना भएका छन् ।
पर्साको ठोरी गाउँपालिका-५ आठघरे टोलमा हावाहुरीका कारण कासिछिन स्याङ्बोको घरको टिनको छाना पूर्णरुपमा उडेको छ ।
बाराको कलैया उपमहानगरपालिका-२ कबहीमा असिनासहितको हावाहुरी र अविरल वर्षाका कारण घरमा आंशिक क्षति पुगेको छ भने बारागढी गाउँपालिका-३ बसुकापलियामा अविरल वर्षाका कारण विश्वनाथ हरिजनको एकतले घर भत्किएको छ ।
रौतहटमा राजपुर नगरपालिका-९, कटहरिया नगरपालिका-१, मौलापुर नगरपालिका-४ र गरुडा नगरपालिका-८ लगायतका स्थानमा घर तथा गोठमा क्षति पुगेको छ । कतिपय घर पूर्णरुपमा भत्किएका छन् भने कतिपयमा आंशिक क्षति पुगेको छ ।
सर्लाहीमा पनि विभिन्न स्थानमा कच्ची घर तथा गोठ भत्किएका छन् । विष्णु गाउँपालिका, मलंगवा नगरपालिका, कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकाका विभिन्न स्थानमा वर्षाका कारण घर तथा गोठमा क्षति पुगेको विवरण छ ।
महोत्तरीको मनरा-शिसवा नगरपालिका-१ मा एककोठे घर भत्किएर बस्न नसक्ने अवस्था भएको छ भने सम्सी गाउँपालिका-२ मा कच्ची घर पूर्णरुपमा भत्किएको छ ।
यता सिरहाको सिरहा नगरपालिका-६ बस्तिपट्टामा कमला नदी किनारको बाँध भत्किएको स्थानमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरी बाँध बाँध्ने काम भइरहेको छ । करिब ५० जनाको संयुक्त टोलीले प्लास्टिकको बोरामा माटो भरेर बाँध संरक्षण गरिरहेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ मा विभिन्न घरका आँगनमा पानी पसेको छ । यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नम्बर ७, ११ र १२ मा कोशी बाँधको दक्षिण-उत्तर क्षेत्रमा बसोबास गर्ने करिब २०० घरका आँगनमा पानी पसेको विवरणमा उल्लेख छ ।
वर्षाजन्य घटनाबाट भएको क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
