असोज २२ र २३ मा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन

Byसदाम हुसैन

२०८३ आश्विन १२, सोमवार २०८३ आश्विन १२, सोमवार २०८३ आश्विन १२, सोमवार

सर्लाही, १२ असाेज । संघीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत उल्झन सुल्झाउन र प्रदेशहरूका साझा एजेन्डा तय गर्न आगामी असोज तेस्रो साता कोसी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन आयोजना हुने भएको छ ।

कोसी प्रदेश सरकारको आयोजनामा आगामी असोज २२ र २३ गते हुने यस सम्मेलनको सम्पूर्ण तयारी तीव्र पारिएको छ । प्रदेश सरकारहरूका साझा समस्या पहिचान गरी संघीय संरचनालाई थप सबल र सुदृढ बनाउने मुख्य उद्देश्यसहित सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनलाई उपलब्धिमूलक बनाउन नीतिगत एजेन्डा तय गर्नाका साथै व्यवस्थापकीय कामका लागि छुट्टाछुट्टै समितिहरू क्रियाशील बनाइएका छन् ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनमा संघीयता अभ्यासका चुनौती, हासिल भएका असल अभ्यास तथा अनुभव आदानप्रदान जानकारी दिए ।

‘सम्मेलनका क्रममा प्रदेशहरूबीच अन्तरप्रदेश व्यापार, उत्पादनको आदानप्रदान, प्राकृतिक स्रोतको सदुपयोग र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने विषयमा ठोस समझदारी जुटाइनेछ,’ मुख्यमन्त्री कार्कीले भने ।

​सम्मेलनको समग्र तयारी तथा नीतिगत समन्वयको जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ । आयोगका उपाध्यक्ष तारानाथ निरौलाको अध्यक्षतामा गठित नीतिगत सिफारिस समितिले कार्यपत्र लेखन, छलफलका विषय र साझा घोषणापत्रको मस्यौदा तयार पारिरहेको छ ।

नीतिगत एजेन्डालाई अन्तिम रूप दिन असोज १४ गते सातै प्रदेशका योजना आयोगका उपाध्यक्षहरूको बैठक बस्ने तय भएको उपाध्यक्ष निरौलाले बताए ।

निरौलाले भने, ‘हामीले प्राकृतिक स्रोत साधनको संयुक्त उपयोग (जोइन्ट युज), अन्तरप्रदेश हवाई सञ्जाल (फ्लाइट कनेक्टिभिटी), पर्यटन तथा उत्पादन आदानप्रदान लगायत १२ देखि १३ वटा प्रमुख बुँदाहरू तयार गरेका छौँ ।’

यो सम्मेलन औपचारिकता  छलफलमा सीमित नभई आगामी दिनमा प्रदेशहरूबीच नियमित छलफल, नीति निर्माण र साझा समस्या समाधानका लागि स्थायी फोरमका रूपमा संस्थागत गर्ने गृहकार्य भइरहेको जानकारी पनि निरौलाले दिए ।

असोज २२ गते उद्घाटन हुने सम्मेलनमा अन्तरप्रदेश असल अभ्यास, स्थानीय र संघीय सरकारसँग गर्नुपर्ने नीतिगत तथा कानुनी समन्वयबारे बृहत् छलफल हुनेछ ।

साथै, पर्यटन प्रवर्द्धनका लागि सहभागी मुख्यमन्त्री तथा विशिष्ट पाहुनाहरूलाई विराटनगर नजिकका पर्यटकीय स्थलहरूको भ्रमण गराउने तालिका तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *