सर्लाही, १२ असाेज । सर्लाहीको गोडैता नगरपालिका-१ बहादुरपुरका ७० वर्षीय छित्नु साह दाहसंस्कार सकेर खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार आज (सोमबार) दिउँसो मलामी गएका साह दाहसंस्कारको काम सकेपछि लखन्देही सोती खोलामा नुहाउने क्रममा खोलाले बगाएको हो ।
साहलाई स्थानीयवासी र प्रहरीको टोलीले खोजी गरिरहेको भए पनि हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । खोजीका क्रममा थप सहयोगका लागि महोत्तरीको बर्दिवासबाट सशस्त्र प्रहरी बलको गोताखोर टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोलाका विभिन्न क्षेत्रमा खोजी कार्य जारी राखेको छ ।
