सर्लाही, १४ असोज । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीका कारण बीच भागबाट चुँडिएको छ ।
महाकाली नदीमा आएको बाढीले बुधबार बिहान करिब ८ बजे पुलको एक भाग भत्काएको हो। नदीको बीच भागमा रहेको एउटा पिलर भत्किएपछि पुलको संरचनासमेत नदीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुलमा पुगेको क्षतिको अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक रावतले पिलर भत्किँदा पुल चुँडिएको बताए । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको उनले जानकारी दिए ।
