काठमाण्डाै, १४ असाेज । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावका कारण विश्वभरका झण्डै ८३ लाख शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ ।

यूएनएचसीआरका अनुसार यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि ८ अर्ब ५० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएकोमा जुलाईको अन्त्यसम्म २ अर्ब ७० करोड डलर अर्थात् ३२ प्रतिशत मात्र प्राप्त भएको समाचार संस्था एएफपीले जनाएको छ ।

बजेट अभावका कारण चाड, इथियोपिया र सुडानलगायत देशमा बाल संरक्षण, शरणार्थी दर्ता तथा यौन हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवामा असर पर्न थालेको यूएनएचसीआरले जनाएको छ । संस्थाका अनुसार इराकमा ३ लाख ५० हजार जना शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणका अवसरबाट वञ्चित हुन सक्ने अवस्थामा छन् ।

यस्तै, सिरियामा १ लाख ६२ हजार ५०० जना कमजोर अवस्थामा रहेका आन्तरिक रूपमा विस्थापित तथा स्वदेश फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको छ । संंस्थाका अनुसार सन् २०२५ मा बजेट संकटका कारण झण्डै ५ हजार कर्मचारीको पद कटौती गरिएको थियो ।

यूएनएचसीआरले अमेरिका लगायत प्रमुख दातृ राष्ट्रबाट प्राप्त हुने वैदेशिक सहायता घट्दै जाँदा विश्वव्यापी शरणार्थी तथा मानवीय सहायता प्रणालीमा थप दबाब परेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *