काठमाडौं, १४ असोज । भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन-अध्यापनका लागि सिफारिस गरिएका बी.आर. अम्बेडकर, ज्योतिराव फुले, गेल ओम्वेटलगायतका लेखकका कृतिमाथि उच्च शिक्षा विभागले छानबिन थालेको छ ।
सामाजिक सञ्जालमा एक अज्ञात व्यक्तिले यी कृतिहरूलाई ‘विष’ भन्दै पोस्ट गरेपछि प्रधानमन्त्री कार्यालय (पीएमओ)ले त्यसबारे चासो देखाएको र त्यसपछि उच्च शिक्षा विभागले केन्द्रीय विश्वविद्यालयहरूसँग विवरण तथा प्रतिक्रिया मागेको ‘द हिन्दू’ले लेखेको छ ।
उच्च शिक्षा विभागले सेप्टेम्बर २७, २०२६ मा सबै केन्द्रीय विश्वविद्यालयलाई पठाएको अत्यावश्यक पत्रमा पीएमओबाट प्राप्त सञ्चारलाई उल्लेख गर्दै सम्बन्धित विषयमा आफ्नो धारणा दिन भनेको छ ।
साथै, सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरिएका पाठ्यक्रममा कति विद्यार्थी भर्ना भएका छन् भन्ने विवरणसमेत मागिएको छ ।
विभागको पत्रमा भनिएको छ, ‘सबै केन्द्रीय विश्वविद्यालयलाई माथि उल्लेखित विषयमा आफ्नो प्रतिक्रिया उपलब्ध गराउन अनुरोध गरिन्छ । साथै, पोस्टमा उल्लेख गरिएका पाठ्यक्रममा भएको विद्यार्थी भर्नाबारे पनि मन्त्रालयलाई जानकारी गराउन अनुरोध गरिन्छ ।’
पत्रमा उक्त विषयलाई ‘अत्यावश्यक’ भन्दै सकेसम्म छिटो प्रतिक्रिया तथा सूचना उपलब्ध गराउन भनिएको समाचारमा उल्लेख छ ।
सामाजिक सञ्जाल पोस्टपछि छानबिन
सेप्टेम्बर २६ मा एक्समा गरिएको उक्त पोस्टमा विश्वविद्यालयमा विद्यार्थीलाई पढाइने विभिन्न पुस्तक तथा कृतिको आलोचना गरिएको थियो ।
पोस्टमा जात व्यवस्था, पितृसत्ता, मनुस्मृति तथा इतिहाससँग सम्बन्धित कृतिहरू पढाएर युवाको दिमागमा ‘विष’ भरिएको दाबी गरिएको थियो ।
पोस्टसँगै ३५ वटा कृति समावेश गरिएको सूचीको तस्बिर राखिएको थियो । उक्त सूचीमा रामायण र महाभारत समेत थिए । विस्तारित पोस्टमा भने विशेषगरी अम्बेडकरको ‘Annihilation of Caste’, शर्मिला रेगेद्वारा सम्पादित ‘Against the Madness of Manu: B.R. Ambedkar’s Writings on Brahminical Patriarchy’, ज्योतिराव फुलेको ‘Ghulamgiri’, ब्रज रञ्जन मणिको ‘Debrahmanising History: Dominance and Resistance in Indian Society’ लगायतका कृतिलाई लक्षित गरिएको थियो ।
त्यस्तै, गेल ओम्वेटका ‘Dalits and Democratic Revolution’ र ‘Towards a Historical Materialist Analysis of the Origins and Development of Caste’, प्रमोद रञ्जनका ‘Mahishasur, Ek Jananayak’ र ‘Mahishasur: Mithak aur Paramparayen’, स्वपनकुमार बिस्वासको ‘Bharat Ke Moolnivasi aur Arya-Akraman’ तथा एसएल निर्मोहीको ‘Bharat Ke Moolnivasi: Rigvedic Asur aur Sharanagat Arya’ पनि पोस्टमा उल्लेख गरिएको थियो ।
पोस्टमा भिक्खु बोधनन्दलाई वामपन्थी शैक्षिक वृत्तमा ‘ब्राह्मणवादविरोधी विचारको जनक’का रूपमा समेत उल्लेख गरिएको थियो ।
लेखकहरूलाई वामपन्थी भन्दै गरिएको दाबीमाथि प्रश्न
पोस्टमा उल्लेख गरिएका लेखक तथा अध्येताहरूलाई वामपन्थी धारसँग जोडिए पनि उनीहरूमध्ये धेरैले जात र लैङ्गिक असमानताको विषयमा परम्परागत भारतीय वामपन्थी विचारको आलोचना गरेको द हिन्दू ले उल्लेख गरेको छ ।
लेखक तथा अध्येता कान्चा इलैया शेफर्डले विश्वविद्यालयका पाठ्यक्रममा फुले र अम्बेडकरका कृति पढाइनुलाई लिएर पीएमओले चासो देखाउनुको अर्थबारे प्रश्न उठाएका छन् ।
उनले विश्वविद्यालयको पाठ्यक्रममा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबारे पनि प्रश्न गरेका छन् । उनका तीन कृतिसहित उनका पुस्तकहरू पनि उक्त ३५ कृतिको सूचीमा समावेश थिए ।
उनका अतिरिक्त ईभी रामासामी ‘पेरियार’, आरएस शर्मा, सावित्रीबाई फुले, उमा चक्रवर्ती, सुवीरा जैसवाल, अलोका पाराशर, शिरिन रत्नागर, जी. एलोसियस र अनुपमा राव लगायतका लेखकका कृतिसमेत सूचीमा छन् ।
यी कृतिहरू जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू), सेन्ट्रल युनिभर्सिटी अफ पञ्जाब, दिल्ली विश्वविद्यालय तथा कलकत्ता विश्वविद्यालयसँग आबद्ध आशुतोष कलेजका स्नातक तथा स्नातकोत्तर तहका अध्ययनमा सिफारिस गरिएका पाठ्यसामग्रीका रूपमा उल्लेख गरिएको छ ।
