सर्लाही, १४ असोज । सभामुख डीपी अर्यालले बजारअनुसारको श्रमिक उत्पादन गर्न र त्यसको व्यवस्थापन गर्न नसकिएको बताएका छन् । बुधबार इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै सभामुख अर्यालले बजारको माग र दक्ष श्रमिक अभावको खाडल पुर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘बर्सेनि लाखौँ नेपाली युवा कामको खोजीमा विदेशिरहेका छन् । तर, यता श्रमिकको अभावमा विदेशबाट मगाउन परिरहेको छ । यही श्रम बजार र श्रमिकबीचको खाडल पुर्न सरकारले काम गर्न आवश्यक छ ।’

देश, समाज र व्यक्तिको शक्ति तथा सामर्थ्य विकास गर्ने माध्यम नै सीप भएको भन्दै उनले यसको विकासमा सरकार लाग्नुपर्ने उनले बताए । ‘सीप नै योग्यता हो, र समाज र राष्ट्र समृद्ध बनाउने माध्यम हो’, सभामुख अर्यालले भने ।

संविधानले सुनिश्चित गरेको राजगारीलाई कसरी संस्थागत गर्ने भन्ने मुद्दामा सबै केन्द्रित हुन आवश्यक रहेको उनले बताए । ‘६६ प्रतिशतभन्दा बढी जनसंख्या श्रमयुक्त जनशक्ति हो । यो जनसाङ्खिकीय लाभलाई राष्ट्रनिर्माणमा लगाउन आवश्यक  छ’, अर्यालले भने, ‘युवाहरू केवल विदेशिने श्रमिक मात्र होइन, यो मुलुकको उपयुक्त र लाभको शक्ति हो । जनसाङ्खिकीय लाभलाई देशमै प्रयोग गर्न आवश्यक छ ।’

आफूले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रोजगार मेला सञ्चालन गरेको बताउँदै अर्यालले यसले श्रम बजारमा ठूलो अवसर र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *