सर्लाही, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसदको मर्यादा र संसदीय अभ्यासलाई सम्मान गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलका नेता सदनमा बोलिरहँदा प्रधानमन्त्रीको उपस्थिति नै यकिन नहुने अवस्था संसदीय संस्कारका दृष्टिले दुःखद भएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै संसद आफ्नो अनुकूलतामा चल्ने संस्था नभएको बताए । ‘मन लाग्दा आउने, बस्ने, नलाग्दा उठेर जाने । के यही हो हामीले विकास गर्न खोजेको संसदीय अभ्यास ?,’ उनले भने ।
आङ्देम्बेले प्रधानमन्त्री सदनमा उपस्थित भएर छलफल सुन्ने र आवश्यकताअनुसार जवाफ तथा प्रतिक्रिया दिने अभ्यास विश्वभर रहेको उल्लेख गरे । संसदले सरकार गठन गर्ने भएकाले प्रधानमन्त्रीले त्यसप्रति आफ्नो जिम्मेवारी र उत्तरदायित्व बुझ्नुपर्ने उनको भनाइ थियो ।
उनले संसदलाई लोकतन्त्रको अभ्यास र पाठशालाका रूपमा व्याख्या गर्दै नयाँ पुस्तालाई कस्तो लोकतान्त्रिक संस्कार सिकाउने भन्ने प्रश्नसमेत उठाए ।
‘संसद सत्ता पक्षको हो, प्रतिपक्षको पनि हो । सरकारको पनि हो, जनताको पनि हो,’ उनले भने, ‘यहाँ आम जनताका मुद्दामा संवाद गरिन्छ र त्यसको समाधान खोजिन्छ ।’
आङ्देम्बेले संसदमा मुलुकको विकास र समुन्नतिको खाका प्रस्तुत हुने तथा सरकारले अघि सारेका योजनालाई वैधानिकता दिने काम हुने भन्दै त्यसको पुष्टि र जवाफदेहितामा प्रधानमन्त्रीको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले प्रधानमन्त्रीलाई संसद, प्रतिपक्ष र संसदमा उठ्ने प्रश्नलाई सम्मान गर्न आग्रह गरे । ‘लोकतन्त्रमा प्रश्नको सम्मान गर्ने सरकार कमजोर हुँदैन । बरु प्रश्नबाट भाग्ने शासन कमजोर हुन्छ,’ उनले भने ।
आङ्देम्बेले सरकारलाई प्रश्नबाट नभागी संसदमार्फत जनताप्रति जवाफदेही बन्न आग्रह गरे ।
