काठमाडौं, १५ असोज । फ्लाई दुबईको उडान एफजेड १०७३ मा चक्कु प्रहारमा परेका भारतीय नागरिक क्याप्टेन स्मित मच्छरले बेहोस हुनुअघि ककपिटको ढोका खोलेका थिए ।

इजरायली यात्रु यानिभ हयुनले बुधबार बेन गुरियन विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुराकानीका क्रममा यस्तो जानकारी दिएका हुन् । 

हयुनले नेतन्याहूलाई ककपिटको ढोका खुलेको भए पनि मच्छर ढोकाको निकै नजिक रहेकाले त्यसलाई खोल्न कठिन भएको बताएका थिए । उनले भने, ‘मेरो निष्कर्षमा उहाँले आफ्नो सुझबुझ प्रयोग गर्दै हाम्रा लागि ढोका खोल्नुभयो र त्यसपछि बेहोस हुनुभयो ।’

पछि नेतन्याहूले एक्समा जारी गरेको वक्तव्यमा मच्छरको बहादुरीको प्रशंसा गर्दै घटनाको उल्लेख गरेका थिए । उनले चक्कु प्रहारबाट गम्भीर घाइते भए पनि मच्छरले प्रतिकार गरेको, आक्रमणकारीको सामना गरेको र ककपिटको ढोका खोलेर यात्रु तथा चालक दलका सदस्यलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन सक्षम बनाएको बताएका छन् ।

नेतन्याहूका अनुसार मच्छरको उक्त कदमले आकाशमै हुन सक्ने ठूलो दुर्घटना रोक्न मद्दत गरेको थियो । उनले मच्छरले इजरायली नागरिकसहित विभिन्न देशका १७४ जनाको ज्यान बचाएको दाबी गरेका छन् ।

स्मितले चक्कु प्रहारका क्रममा के गरेका थिए ?

स्मित मच्छरको सामाजिक सञ्जालमा पनि व्यापक प्रशंसा भइरहेको छ । इरानकी एक महिलाले एक्समा आफ्ना श्रीमान् पाइलट रहेको र उनका अनुसार पाइलटसँग ककपिटभित्रैबाट ढोका अनलक गर्न सकिने स्विच हुने बताएकी छन् ।

उनले सम्भवतः क्याप्टेन मच्छरले सहयोगका लागि आवाज मात्र नलगाएको, बेहोस हुनुअघि उक्त स्विच पनि दबाएको हुन सक्ने उल्लेख गरेकी छन् । त्यसो नभएको भए ककपिटभित्र कोही प्रवेश गरेर विमानलाई बचाउन सहयोग गर्न नसक्ने उनको भनाइ छ ।

इजरायली समाचार वेबसाइट ‘जेरुसेलम पोस्ट’का अनुसार केही यात्रुले घाइते मच्छरलाई प्राथमिक उपचार दिएका थिए ।

उनीहरूमध्ये इजरायली दन्त चिकित्सक शोता मुसायेभ पनि थिए । विमानले साउदी अरबको ताबुक विमानस्थलमा आपत्‌कालीन अवतरण गरेपछि मच्छरलाई साउदी अरबकै एक अस्पतालमा भर्ना गरिएको थियो ।

मुसायेभले इजरायली सञ्चारमाध्यमसँग कुरा गर्दै मच्छर गम्भीर रूपमा घाइते भएको र उनको टाउको तथा हातबाट धेरै रगत बगेको बताएका छन् । उनले रक्तस्राव रोक्न सहयोग गरेको बताएका थिए ।

उनका अनुसार त्यसपछि मच्छरको अवस्था स्थिर भएको थियो । तर, विमान अवतरण गर्ने क्रममा उनको अवस्था फेरि बिग्रिएको थियो । मुसायेभका अनुसार मच्छरले बोल्दै आफूलाई अर्का पाइलटले चक्कु प्रहार गरेको बताउनसमेत सकेका थिए ।

मच्छर अनुभवी पाइलट हुन् । उनले नयाँ पाइलटलाई प्रशिक्षणसमेत दिँदै आएका छन् ।

को हुन् स्मित मच्छर ?

लिंक्डइन प्रोफाइलका अनुसार फ्लाई दुबईमा आबद्ध हुनुअघि मच्छरले भारतीय एयरलाइन्स स्पाइसजेटमा एक दशकभन्दा बढी समय काम गरेका थिए । त्यहाँ उनी प्रशिक्षण क्याप्टेन तथा नयाँ पाइलटका मेन्टरसमेत थिए ।

उनको प्रोफाइलअनुसार उनले बोइङ ७३७–८०० तथा ७३७ म्याक्स ८ र ९ विमानमा करिब ९ हजार ७५० घण्टा उडान भरेका छन् । लिंक्डइन प्रोफाइलबाट उनका सन्तानसमेत रहेको देखिन्छ ।

साउदी अरबस्थित भारतीय दूतावासले मच्छरलाई ‘उत्तरपश्चिमी साउदी अरबको ताबुक सहरस्थित एक अस्पतालमा भर्ना गरिएको र आवश्यक उपचार भइरहेको’ जनाएको छ ।

दूतावासले उनको स्वास्थ्य अवस्थाबारे पूर्ण जानकारी प्राप्त नभएको बताए पनि उनको अवस्था स्थिर रहेको जानकारी प्राप्त भएको जनाएको छ । दूतावासका अधिकारीहरू मच्छरको परिवारसँग सम्पर्कमा रहेको पनि बताइएको छ ।

ट्रम्पले पनि गरे स्मितको प्रशंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फ्लाई दुबईका पाइलट मच्छरलाई ‘हिरो’को संज्ञा दिएका छन् । उनका अनुसार सहपाइलटले चक्कु प्रहार गरेपछि त्यसको सामना गर्दै मच्छरले ककपिटको ढोका खोलेर सहयोगका लागि गुहारेका थिए । यसले विमानलाई जानाजानी दुर्घटनामा पार्ने प्रयास रोक्न सहयोग गरेको ट्रम्पले बताए ।

ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुरा गरेको बताएका थिए ।

ट्रम्पका अनुसार नेतन्याहूले उनलाई दुबईबाट तेल अभितर्फ जाँदै गरेको उक्त उडानलाई नियन्त्रणमा लिन एक इजरायली यात्रुले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए । उक्त विमान पछि साउदी अरबमा अवतरण गरेको थियो ।

ट्रम्पले पाइलटको अवस्था निकै खराब रहेको बताउँदै भने, ‘तर उहाँसँग त्यस्तो अवस्थामा पनि सुझबुझ प्रयोग गर्ने क्षमता थियो । यो वास्तवमै अद्भुत थियो । एक अर्थमा उहाँ हिरो हुनुहुन्थ्यो ।’

ट्रम्पका अनुसार मच्छरले ककपिटको ढोका खोलेर सहयोगका लागि चिच्याउन सफल भएका थिए । अमेरिकी राष्ट्रपतिले सहपाइलट सम्भवतः आतंकवादी वा मानसिक रूपमा असामान्य व्यक्ति हुन सक्ने र उसले पाइलटमाथि चक्कु प्रहार गरेको बताए ।

त्यसपछि ट्रम्पले एक इजरायली यात्रुको ‘असाधारण’ भूमिकाको चर्चा गरे । उनका अनुसार ती यात्रु पेसाले प्लम्बर थिए ।

ट्रम्पका अनुसार कहिल्यै विमान नउडाएका ती यात्रु ककपिटमा प्रवेश गरी सहपाइलटलाई सिटबाट तानेर पछाडि लडाएका थिए । त्यसपछि अन्य यात्रुले उनलाई समातेर नियन्त्रणमा लिएका थिए ।

ट्रम्पले ती यात्रुले आफूले ‘एयर डिजास्टर्स’ नामक टेलिभिजन कार्यक्रम धेरै हेरेको र त्यसबाट विमान उडाउनेबारे केही आधारभूत कुरा सिकेको बताएको उल्लेख गरे ।

ट्रम्पका अनुसार विमानको पछिल्लो भागमा रहेका अतिरिक्त पाइलट तथा सुरक्षा कर्मचारी पछि ककपिटमा पुगे र विमानको नियन्त्रण सम्हाले । उनले भने, ‘मलाई लाग्छ, यो सबैभन्दा अविश्वसनीय कथामध्ये एक हो ।’

यद्यपि, ट्रम्पले आफूले प्राप्त गरेको जानकारी मात्र सुनाइरहेको र यी तथ्यको स्वतन्त्र रूपमा पुष्टि नगरेको पनि स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *