शरद ऋतुमा ६४८ आरोहीले पाए हिमाल आरोहण अनुमति, मनास्लुमा मात्रै ५ सय

Byसदाम हुसैन

२०८३ आश्विन १५, बिहीवार २०८३ आश्विन १५, बिहीवार २०८३ आश्विन १५, बिहीवार
धौलागिरि हिमाल गुल्मी, १२ असोजः वर्षा रोकिएपछि गुल्मीको पर्यटकीयस्थल रेसुङ्गा पार्कबाट सोमबार बिहान देखिएको धौलागिरि हिमाल । तस्बिरः जनार्दन घिमिरे/रासस

सर्लाही, १५ असोज । शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो ।

अनुमति लिनेमा ७१ समूह रहेको र जसमा ४८५ पुरुष र १६३ महिला रहेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिए । अनुमति लिनेमा अस्ट्रेलिया १७, क्यानडा १६, जापान २१, भारत १८, अमेरिका ४१, बेलायत ३८, स्पेन १५, स्विट्जरल्यान्ड १३, रुस ५७, पोल्यान्ड १९, नेपाल २० र चीनका ११८ आरोही रहेका छन् ।

यस्तै, जर्मनी ३४, फ्रान्स ५१, बेल्जियम सात, बुल्गेरिया पाँच, चेक रिपब्लिक १६ र अर्जेन्टिना सात जना रहेको विभागले जनाएको छ । यस्तै, अन्य देशका आरोहीले पनि अनुमति लिएका छन् ।

आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २३ करोड ८९ लाख ६४ हजार २९८ रोयल्टी संकलन गरेको छ । आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ ।

मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी संकलन गरेको छ ।

विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना र बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले आरोहण अनुमति लिएका छन् ।

यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात् २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ आम्दानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *