काठमाडौं, १५ असोज । पाकिस्तानी सरकारले आफ्नो सेनाले अफगानिस्तानका दुई स्थानमा ‘आतंकवादीका अखडा’लाई निसाना बनाएको दाबी गरेको छ । पाकिस्तानी सरकारका अनुसार यी हवाई हमलामा २२ जना ‘आतंकवादी’ मारिएका छन् ।

पाकिस्तानको सूचना मन्त्रालयले एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अपरेसन गज्ब–उल–हक’ अन्तर्गत चरमपन्थी संगठनका अखडा र सुरक्षित आश्रयस्थलमा हवाई हमला गरिएको हो ।’

आक्रमणको उद्देश्य चरमपन्थी, उनीहरूको सञ्जाल र सहयोग गर्नेहरूलाई समाप्त गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘पुख्ता गुप्तचर सूचनाका आधारमा अफगानिस्तानका दुई स्थानमा आतंकवादीका अखडा र उनीहरू बस्ने ठाउँलाई निशाना बनाइएको थियो ।’

पाकिस्तानी सरकारले ती अखडा सफलतापूर्वक ध्वस्त पारिएको र कारबाहीमा २२ जना चरमपन्थी मारिएको दाबी गरेको छ ।

अर्कोतर्फ, तालिबान सरकारले पाकिस्तानले गत राति अफगानिस्तानका कुनार र हेलमन्द प्रान्तमा हवाई हमला गरेको आरोप लगाएको छ । उक्त हमलामा कैयौँ मानिस मारिनुका साथै घाइते भएको तालिबान सरकारको दाबी छ ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा जारी गरेको विज्ञप्तिमा पाकिस्तानले सर्वसाधारणका घरलाई लक्षित गरी हवाई हमला गरेको आरोप लगाएका छन् ।

मुजाहिदका अनुसार उक्त हमलामा ९ जनाको मृत्यु भएको र ११ जना घाइते भएका छन् । उनका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *