सर्लाही, १६ असाेज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपिजी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एलपिजीको लोडिङ, ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्तासम्म पुग्ने प्रक्रियामा रहेका समस्या पहिचान गरी समाधानका लागि काम गरिरहेको बताए ।
उनले ग्यासको आपूर्ति सहज बनाउन सरकारले मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षालगायतका पक्षलाई विश्लेषण गरेको पनि बताए ।
उनले ग्यास अभावको समस्या समाधानको लागि सरकारले तत्कालिन, मध्यम र दीर्घकालीन गरी उर्जा सुरक्षा योजना निर्माण गरिरहेको बताए। तत्काल नागरिकलाई ग्यास उपलब्ध गराउने कुरामा सरकार गम्भीर रहेको उनको भनाइ छ ।
उनले ग्यासको भण्डारण क्षमता विस्तार, बोटलिङ तथा वितरण क्षमता वृद्धि र आपतकालिन मौज्दातको व्यवस्था गर्न सरोकारवालासँग छलफल भइरहेकोसमेत जानकारी दिए ।
आपूर्ति प्रणालीको महत्वपूर्ण अवरोधका रूपमा कृष्णभीर पहिरो पहिचान भएपछि सडक खुलाउन दोब्बर जनशक्ति र मेसिनरी परिचालन मन्त्री साहको जिकिर छ ।
उनले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणको विषयसमेत सरकारको प्राथमिकतामा रहेको बताए। बजार अनुगमनलाई व्यवसायीलाई आतङ्कित बनाउने माध्यम नभई स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकार संरक्षणको साधनका रूपमा अघि बढाइने उनको भनाइ छ ।
चाडबाडको समयमा बजार अनुगमनमा कडाइ गरिएको भन्दै उनले कुनै पनि व्यवसायीले उपभोक्ता हितविपरीत काम गरे कानुनअनुसार कारबाही हुने स्पष्ट पारे ।
