सर्लाही, १६ असाेज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आफ्नो समूहको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
पार्टीको आफू नेतृत्वको इतर समूहले बिहीबार गरेको वडा अधिवेशनमा देउवा डडेलधुरा जिल्लाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् ।
नेपाली कांग्रेस इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं.१ बाट उनी सर्वसम्मत वा बहुमतका साथ क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्रमा उल्लेख छ ।
देउवाले वारेसनामामार्फत प्रतिनिधिका लागि मनोनयन दर्ता गराएका थिए ।
क्षेत्रीय प्रतिनिधि चयन भएपछि उनी महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न पाउँछन् । अनि प्रतिनिधिसभा क्षेत्रको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन भएपछि महाधिवेशनमा सहभागी हुन पाउँछन् ।
कांग्रेसको इतर समूहले असोज २४ गते क्षेत्रीय अधिवेशन गर्दै छ ।
नेपाली कांग्रेस डडेल्धुराका उपसभापति दिल्लीराज जोशीका अनुसार जिल्लाका ५२ वडामध्ये ३० वडामा अधिवेशन सम्पन्न भएका छन् ।
बाँकी वडामा आज नयाँ वडा कार्यसमिति गठन गरिने उनले बताए ।

