बालेन सरकारको यात्रा फासीवादी मार्गमा अग्रसर छ: बादल

Byसदाम हुसैन

२०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार

सर्लाही, १६ असाेज । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता बादलले सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’ को संज्ञा दिए । पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पछिल्लो समयका राजनीतिक घटनाक्रमसम्म आइपुग्दा सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर रहेको उनको आरोप छ ।

सत्तापक्षले संसदलाई केवल प्रतिछायाको रूपमा प्रयोग गरेको उनको भनाइ छ। गत निर्वाचनमा आफ्नो दलले बेहोरेको पराजयलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरेको उनले बताए । ‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन, हामीले यसलाई भावी विजयको अवसरका रूपमा लिएका छौँ,’ उनले भने । 

सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै उनले विधि निर्माण प्रक्रियामा सत्तापक्षले संकुचित सोच राखेको आरोप लगाए । संसदमा दर्ता भएका दर्जनौँ विधेयकमा प्रतिपक्षको सुझावलाई स्थान नदिई सरकारले ‘एकाधिकार’ लादेको उनको दाबी छ । 

‘लोकतान्त्रिक प्रक्रिया संवाद र सहमतिमा आधारित हुनुपर्नेमा सत्तापक्षले संख्या र शक्तिको दम्भमा विधेयकहरू पेलेर पारित गर्ने काम गरेको छ,’ उनले भने । 

संसदका सभामुखको भूमिकामाथि पनि उनले प्रश्न उठाए। राजनीतिक सहमतिको लागि सभामुखले ठोस अगुवाइ गर्न नसकेको उनको भनाइ छ ।

यद्यपि पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने जमर्को गर्नु र सत्तापक्षका केही सांसदले सरकारको कार्यशैलीमा प्रश्न उठाउनु सकारात्मक संकेत भएको बादलले बताए । 

गत भदौ १० को महाविपत्तिपछि रास्वपा सभापतिले सर्वपक्षीय संयन्त्र निर्माणका लागि गरेको पहलको स्वागत गर्दै उनले संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगर्नु त्रुटिपूर्ण भएको औँल्याए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *