सर्लाही, १८ असोज । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बिर्ताबजारमा ब्याट्रीको पानी पिउँदा अढाई वर्षीय बालक बिरामी भएका छन् ।
स्थानीय काले माझीका छोरा २ वर्ष ६ महिनाका निशान्त माझीले आफ्नै घरमा खेल्ने क्रममा शौचालयभित्र गिलासमा राखिएको ब्याट्रीको पानी भूलवश पिएको बताइएको छ ।
ब्याट्रीको पानी पिएपछि बिरामी भएका निशान्तलाई उपचारका लागि लालबन्दीस्थित गाउँमैत्री अस्पताल लगिएको थियो ।
त्यहाँ उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको जनाइएको छ । बालकको अवस्था गम्भीर रहेको बताइएको छ ।

