सर्लाही, १८ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । वासिङ्टन डीसी पुगेका वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन् ।
अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा नेपालको आर्थिक साझेदारी र सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।
भेटवार्तामा द्विपक्षीय सहयोग विस्तार, भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, उत्थानशील विकास, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विषयलाई पनि वाग्लेले प्राथमिकताका साथ उठाउनेछन् ।
त्यस्तै, सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी बढाएर रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयमा पनि छलफल हुनेछ ।
भ्रमणका क्रममा वाग्लेले अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा वाग्ले दुईदिने भ्रमणका लागि अमेरिका पुगेका हुन्। भ्रमण असोज १९ र २० गते अर्थात् अक्टोबर ५ र ६ सम्म रहनेछ ।
