सर्लाही, २० असोज । नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनका लागि सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र काठमाडौं-४ बाट मनोनीत हुनेमा राजनीतिक विश्लेषक सुदर्शन आचार्य र अर्का विश्लेषक अरुणकुमार सुवेदीसहित परेका छन् ।
२०७९ को स्थानीय निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट बुढानीलकण्ठ नगरपालिकामा मेयरका उम्मेदवार रविन अधिकारी कांग्रेसमा प्रवेशलगत्तै महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् ।
मनोनयन सूचीअनुसार क्षेत्र नम्बर ४ मै मताधिकार कायम हुने गरी प्रहरीका भूपूडीएसपी सुरेन्द्र सिटौला र जेन-जी समूहकी प्रकृति पाण्डेको नाम उल्लेख छ । पाण्डे कांग्रेसका तर्फबाट जिल्ला समन्वय समिति सदस्य रहेकी शान्ति पाण्डेकी छोरी पनि हुन् ।
मनोनीत भएका पूर्वप्रहरी सिटौलाकी पत्नी लक्ष्मी कार्की यसअघि खुलातर्फ प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।
मनोनीतसमेत जोड्दा काठमाडौं ४ बाट महाधिवेशन प्रतिनिधिको कूल संख्या ३० पुगेको छ ।
